प्रमुख समाचार

महन्थले गुहारे राष्ट्रपति र देउवा : पार्टी फुटाएरै भए पनि सरकारमा जाने तयारी

इकागज |
बैशाख २८, २०७८ मगलवार १३:२३ बजे

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) को एक समूहले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन आफुहरूको सहमति नहुने बताएका छन् । जसपाबाट त्यो तहको निर्णय पनि नहुने भन्दै त्यसबारेको जानकारी देउवालाई दिइसकेका छन् । 

देउवाले आज दिउँसो सर्वदलीय बैठक राखेर यसमा छलफल गर्ने भनिरहेको अवस्थामा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरको यस्तो धारणा आएको हो । ठाकुरले यही विषय राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि जानकारी गराएका छन् । 


ठाकुरले सोमबार राति नै विज्ञप्ति जारी गरेर आफूहरू देउवा नेतृत्वको सरकार बनाउने कार्यमा सहभागी नहुने बताएका छन् । तर, सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्‌ अध्यक्ष डा. बाबुराम भट्टराई भने देउवा नेतृत्वको सरकार बनाउन लागि परेका छन् । उनीहरू केहीबेरमा देउवा निवासमा हुने बैठकमा समेत सहभागी हुनेछन् । 

देउवाले चाहेमा महन्थलाई मनाउन सक्ने धारणा यादव पक्षहरूको पनि छ । महन्थ नआए पनि जसपाबाट देउवालाई बहुमत पुग्‍ने गरी सांसदले भोट दिने वा दल नै फुटाएर भए पनि विकल्पको सरकारमा जाने निर्णय भएको एक नेताले इकागजलाई जानकारी दिए । 

त्यसो हुन नसकेको खण्डमा एमालेका असन्तुष्ट पक्षबाट प्रत्यक्षमा राजीनामा गराएर भए पनि विकल्पमा जाने निर्णय हुनसक्ने कांग्रेस नेताहरूले बताएका छन् । सबै विकल्पबारेमा छलफल भएको छ । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत गुमाएपछि त्यसबारेमा छलफलमा जुटेका हुन । जसपाको ठाकुर समूह तटस्थ रहेका थिए भने यादव समूहले विपक्षमा मतदान गरेका थिए । ठाकुरले नयाँ सरकार गठनमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावनाविरुद्ध भएको बताउँदै अमिल्दो कारण प्रस्तुत गरेको बुझाई उनकै दलभित्र छ । 

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भएर सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्‍न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,’ अध्यक्ष ठाकुरले भनेका छन्, ‘मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो भन्‍ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चित प्राय छ ।’

ठाकुर समूहले पार्टीको निर्देशन विपरीतका कार्य गरेको भन्दै अर्का अध्यक्ष यादवमाथि कारबाहीको तयारी पनि गरेका छन् । तर यादवले त्यस्तो कुनै कारबाही हुन नसक्ने र अल्पमतमा परेकाहरूलाई मिलाउने प्रयास गरिने तर नमिले पार्टीको बैठकबाट आधिकारीक रुपमा कारबाही हुने स्पष्ट पारिसकेका छन् ।


Author

थप समाचार
x