प्रमुख समाचार

काेभिडविरुद्ध लड्न चीनबाट थप सहयोग आउँदै

चिनियाँ राष्ट्रपतिकै तहमा नेपालमा फैलिएको कोभिडबारे चासो

इकागज |
बैशाख २९, २०७८ बुधबार २०:४२ बजे

काठमाडौँ : चीनले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सघाउने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङकै तहबाट चासो व्यक्त भएपछि चीनले नेपाललाई सघाउने तयारी गरेको जानकारी नेपाल सरकारले पाएको छ । उनले तत्काल स्वास्थ्य सामाग्रीसहित खोप नेपाल पठाउन निर्देशन दिएकाे र नेपाल पठाउने सामान बेइजिङमा तयार रहेको पनि बताइएको छ ।

यसै साता राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर सहयोगबारे जानकारी दिने तयारी रहेको बेइजिङस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको मन्त्रालय स्रोतले बतायो । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे यसअघि नै मध्य जेठसम्म दस लाख र दुई महिनापछि अर्को दस लाख खोप नेपाल पुर्‍याउने बताएका थिए ।


केही अनुदान र केही न्यून शुल्क रहने पनि उनले बताएका थिए । राष्ट्रपति सिले नै नेपालको अवस्थाबारेमा चिन्ता व्यक्त गर्दै चासो देखाएको भन्दै चिनियाँ उच्च अधिकारीहरूले नेपाललाई आवश्यक पर्ने स्वास्थय सामाग्री र खोप अनुदानमा नै आउन सक्ने बताएका छन् । यसअघि चीनले आठ लाख खोप अनुदानमा पठाएर त्यसबाट पहिलो डोज लगाउने कार्यसमेत भइसकेको छ । मंगलबार मात्र पहिलो खेप घोषित स्वास्‍थ्‍य सामाग्रीको पहिलो खेप नेपाल भित्रिएको छ । 

बीस लाख डोज खोप चीनले अनुदानमा दिने या खरिद गर्नुपर्ने अझै निर्क्यौल नभए पनि केही अनुदान हुने बताइएको छ । दूतावास स्रोतका अनुसार खोप चिनियाँ राष्ट्रपति सीले दुइवर्ष अघि नेपाल भ्रमण क्रममा अनुदान स्वरूप दिइने भनिएको ५६ अर्ब रूपैँया सहायता भित्र खोप पर्नेगरी पनि छलफल भइरहेको छ । 

नेपालले कोभिड वर्तमान अवस्थामा यथाशिघ्र खोप उपलब्ध गराउन चिनियाँ पक्षलाई अनुरोध गरेपछि राष्ट्रपपति स्तरमा नै त्यो जानकारी पुगेको हो । चीनको कोभिड विरुद्धको खोप निर्माता तथा उत्पादकमध्यको एक साइनोफार्मसँग तत्काल बीस लाख डोज माग गरेको हो । चीनले नेपाललाई यसअघि साइनोफार्मबाट उत्पादित भेरोसेल खोपको आठ लाख डोज अनुदान स्वरूप दिएको थियो ।

हालै विश्‍व स्वास्थ्य संगठनले साइनोफार्मको खोपलाई मान्यता दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले पाँच दिन अघि (मे ७) मा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपाललाई यथासम्भव सहयोग गर्न तत्पर रहेको उल्लेख गरेका थिए । नेपालमा सङ्क्रमणको ग्राफ ठाडो रूपमा बढ्दैगएको अवस्थामा खोप एउटा आशा हो र महामारीलाई परास्त गर्नसक्ने अस्त्र हो ।


Author

थप समाचार
x