प्रमुख समाचार

रामेछापमा पीसीआर मेशिन नहुँदा रिपोर्ट आउनै तीन दिन लाग्‍ने

सुसन लामिछाने |
बैशाख ३०, २०७८ बिहीबार १९:१८ बजे

रामेछापः जिल्लामा कोभिड-१९ परीक्षण गर्ने पीसीआर मेशिन नहुँदा रामेछापका नागरिक तीन दिनसम्म रिपोर्ट कुर्न बाध्य छन् । स्वाबको नमूना संकलन सबै स्थानीय तहबाट भइरहे पनि परीक्षण गर्न धुलिखेल, दोलखा, सिन्धुली पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । 

उनले पहिले एकै दिनमा रिपोर्ट आउने भए पनि अहिले परीक्षण गर्नेको चाप बढेसँगै रिपोर्ट आउँन ३ दिनसम्म समय लाग्ने गरेको बताए । रामेछापमा २ सय ६६ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्णलाई पनि कोभिड-१९ संक्रमण भएको छ ।
 
बिहीबार रामेछापका ४४ जनामा संक्रमण पुष्टि भएको हो । रामेछापको सबै स्थानीय तहमा कोभिड अस्पताल छन् । ५ देखि १० बेडसम्म कोभिड अस्पताल भनिए पनि सामान्य अक्सिजन सेवा मात्रै उपलब्ध छ । रामेछाप जिल्ला अस्पतालमा अहिले १२ संक्रमित उपचाररत छन् । उनीहरूलाई अक्सिजन दिएर राखिएको छ । तर अस्पतालमा उच्च अक्सिजन, हाइ डिपेन्डेन्सी (एचडीयू), आइसीयू र भेन्टिलेटर बेडको एक पनि सेवा उपलब्ध छैन । 


अस्पतालमा अक्सिजन नपुगेर आफन्तहरूले नै बुझेर रिफर गरेर लैजाने गरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. नितेन्द्र कर्णले जानकारी दिए । उनले अस्पतालमा ३ जना एमडी डाक्टर भएको तर विशेषज्ञ नभएकोले कोभिड संक्रमितहरूलाई उपचार गर्न समस्या भइरहेको जनाए । पर्याप्त जनशक्ति नहुँदा थपिदै गरेको कोभिडका बिरामीलाई उपचार दिन समस्या भएको उनले बताए । अन्य अपुग जनशक्ति पुरा गरेपनि स्वास्थ्यकर्मी नै संक्रमित भए ब्याकअप नभएको उनको भनाइ थियो । 

रामेछाप अस्पतालमा संक्रमितहरूलाई आइसियू सेवा समेत उपलब्ध नहुँदा हालसम्म ५ जनालाई अन्यत्र रिफर गरिएको छ । ‘अहिले अन्यत्र पनि भेन्टिलेटर बेड पाउन मुस्किल छ, यसरी नै चलिरहेको छ ।’ कर्णले भने । दैनिक ४ वटा अक्सिजन सिलिण्डर अस्पतालमा खपत भइरहेको छ भने ३२ सिलिण्डर अस्पतालले स्टक राखेको छ । 

‘अस्पतालमा अक्सिजन सिलिण्डरको समस्या भन्दा पनि रिफिल गर्न समस्या छ । काभ्रेमा अक्सिजन रिफिल गर्न पठाउँदा समयमै आउँदैन । ४ दिनसम्म क्यूमा राख्नुपरेको छ ।’ उनले भने । यता रामेछापमा बामगती प्रदेश सरकारले आवश्यक जनशक्ति र पीसीआर मेशिन राख्ने तयारी गरेको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया समेत अघि बढाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईले बताए । 
 


Author

थप समाचार
x