प्रमुख समाचार

मुलुककै ठूलो सभाहल उद्‍घाटन

सरकारविरुद्ध खर्चिने शक्ति महामारी नियन्त्रणमा उपयोग गर्न प्रधानमन्‍त्री ओलीकाे आह्‍वान

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १७:५१ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्‍घाटन गरेका छन् । ४२औँ प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले सकारात्मक सन्देश दिने उद्देश्यले मुलुककै ठूलो सम्मेलन केन्द्रको भर्चुअल उद्घाटन गरेका हुन् । उद्‍घाटनबाट पहिलो सार्वजनिक समारोहमा सम्बोधन गर्दै उनले भने, 'कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको भए पनि ती प्रयासहरूलाई ओझेलमा पार्न खोजिएको छ ।'


आफू दाेस्रो पटक प्रधामन्त्री भएपछि नै निर्माण थालिएको उक्त भवनको उद्घाटन गर्न पाएको र आफ्नो कार्यकालमा यसरी काम भएको सन्देश दिन पाएको भन्दै खुसी समेत व्यक्त गरे । एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो अत्याधुनिक भवन हो ।  ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधियुक्त यो केन्द्र निर्माणमा कोभिडको प्रभावमा परेपनि तोकिएको समयमा सम्पन्‍न भएको हो । 

केहीले  हिलाे छेप्‍ने काम गरेको भए पनि काम भइरहेकाे उनले बताए । मुलुककै ठूलाे सभाहलकाे उद्‍घाटनमा उनले भने, 'काम नै भएका छैनन् भन्‍नेहरूलाई यो जवाफ पनि हो ।' महामारीमा पनि सरकारले राम्राेसँग काम गरिरहेको र बेड व्यवस्थापन देखि अक्सिजनको व्यवस्था समेत गरिरहेको भए पनि यहाँ अनेकन कुरा भइरहेकाे उनले त्यहाँ बताए । उनले कोभिड-१९ रोकथाम तथा उपचारमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा कसैले भ्रष्टाचार गर्छ भने सरकारले नछाड्ने पनि बताए ।

सरकारले केही गरेन भनेर विपक्षीको आरोपलाई सभाहल उद्घाटनले खण्डन गरेको पनि उनले भने, 'मेरो पालामा सुरु भएर मेरै पालामा सकिएको परियोजना हो । यस्तै धरहरा नै हेर्नू । अन्य कैयन छन् तर यहाँ नकारात्मक कुरा मात्र गरिन्छ ।' अस्थिरता चाहने, मुलुकमा शान्ति देख्‍न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले सधै प्रतिगमन देखेको पनि उनले बताए । ‘कोही-कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन्,’ उनले दाहाललाई कटाक्ष गरे । 

प्रधानमन्त्री ओलीले सबै राजनीतिक पार्टीहरूलाई आव्हान गर्दै भने, 'सरकारलाई सेक्न खर्चिने शक्ति महामारी नियन्त्रणमा जुट्न उपयोग गर्नू' । उनले करिब ३ हजार क्षमताको सम्मेलन केन्द्र ८१ करोड ६ लाख लागतमा उदाउँदो सूर्यको आकृतिमा बनाइएको भवनभित्र २ वटा भीभीआईपी कक्ष छन् । सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय विमानस्थलबाट १५.८ किलोमिटर र चक्रपथबाट ९.५ किलोमिटर दूरीमा रहेको छ ।

आरम्भमा रुख कटान र पुराना घर-टहरा सार्न पर्ने कारण केही अलमल र ढिलाइ भएको भवन विभागले जनाए पनि त्यसपछिका दिनमा यसका काम लगातार अघि बढेको हो । प्रधानमन्त्री ओलीले सम्मेलन केन्द्र विहान उद्घाटन गर्ने तयारी रहेको भए पनि शपथको कारण दिउँसो सरेको थियो । २०७६ भदौमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन आयोजना गर्न सरकारलाई समस्या परेपछि सभाहल बनाउने निर्णय ओलीले लिएका थिए । 

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणकाे कार्य अघि बढेको हो । सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको र यो महामारीको बीचमा पनि केसी समानान्तर जेभीले समयमा नै भावन निर्माण गरेको हो । 


Author

थप समाचार
x