प्रमुख समाचार

राजदूत नियुक्तिको सिफारिस

दूतावास गएर नै कूटनीतिको कखरा‌‍...

कूटनीतिक सेवाबाट १२ र राजनीतिक नियुक्तिबाट २१ राजदूत

इकागज |
जेठ १, २०७८ शनिबार १४:१५ बजे

काठमाडौँ : तीन वर्षदेखि खाली दक्षिण कोरिया र श्रीलंकासहित खाली हुन लागेका मुलुकमा सरकारले राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत लिनु अगावै राजदूतको सिफारिस गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका कर्मचारीलाईसमेत जानकारी नदिइकन प्रधानमन्त्रीले राजदूत सिफारिस गरिएको भन्दै परराष्ट्रभित्र असन्तुष्टि चुलिएको छ । वासिङटन बसेर आएका र कार्यकाल सकिन लागेकाे मात्र होइन बहु-विवादित सहसचिवलाई राजदूत सिफारिस गरेर सरकारले गलत नजिर कायम गरेको भन्दै मन्त्रालयमा असन्तुष्टि देखिएको हो । २७ वर्षको करिअरमा २४ वर्ष  विदेशमा नै बिताएका राजदूत हुने अनि महत्वपूर्ण महाशाखा हेरेकाहरू खुरुखुरु घर जानुपर्ने अवस्था सरकारले निम्त्याएको उनीहरूको तर्क छ । 


कन्सुलर र प्रशासनबाहेक दुईपक्षीय कार्यमा दख्खल नराख्‍ने, विदेशमा आफ्ना मानिस लगेर छाड्ने कर्मचारी सिफारिस भएको दाबीसहित सहसचिवहरूले सामूहिक असन्तुष्टि आइतबार परराष्ट्र मन्त्रीसमक्ष व्यक्त गर्ने भएका छन् । राजदूत सिफारिस भएको एक साता भइसक्दा पनि परराष्ट्रका सहसचिवहरूलाई समेत जानकारी नदिएकाले पनि उनीहरू रुष्ट भएका हुन् ।  

एक साताअघि अस्ट्रेलियाबाट राजदूत फिर्ता बोलाएर त्यहाँ पनि अर्को राजदूत नियुक्ति सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार ११ राजदूत सिफारिस गरिएको जानकारी संसद् सचिवालयमा आएको छ । अमेरिकामा चार वर्ष शून्य प्राय: काम गरेर फर्केका सहसचिव जीवनप्रकाश श्रेष्ठलाई सिफारिस गरेको छ । उनले विदेशमा मानिस लगेर छाडेको र आफ्नै राजदूतलाई धम्की दिएको प्रमाणसहित परराष्ट्र सचिवलाई राजदूत दम्पत्ति पुगेर लिखित उजुरी नै दिइएको उनीहरूले स्मरण गरेका छन् ।

उजुरी बुझ्‍ने परराष्ट्र सचिव यतिबेला मुख्य सचिव छन् । सिफारिसमा परेका श्रेष्ठ दुई सातापछि सेवा निबृत्त हुँदैछन् । यसअघि पनि सरकारले सेवा निवृत्त हुन लागेकालाई राजदूत नबनाउने भनिरहेको मात्र होइन कूटनीति र बाहिर ५०/५० प्रतिशत हुने भनिएको थियो । त्याे निर्देशिका अझैँ परराष्ट्रमा धमिरा लागेको छैन होला । किनकि ज्ञवाली परराष्ट्रमन्त्री भएपछि त्यो निर्देशिका आएको हो भने यिनै मुख्यसचिव त्यतिबेला परराष्ट्र सचिव थिए । अर्का सेवा निवृत्त हुन लागेका यज्ञबहादुर हमाललाई भने राजदूत सिफारिस गरिएको छैन ।

त्यस्तै मन्त्रालयमा रहेको आधार हेर्ने हो भने भरतकुमार रेग्मी छन् । यसअघि कालीप्रसाद पोखरेल पनि नियुक्ति नपाइ घर गएका हुन् । अन्य यस्ता धेरै उदाहरण छन् ।श्रेष्ठको  सिफारिसले परराष्ट्र सहसचिवहरुले आक्रोशित बनेका छन् । परराष्ट्रबाटै अर्का सहसचिव  निर्मलराज काफ्ले पनि राजदूत सिफारिस भएका छन् । उनी यसअघि नै सिफारिस हुन पर्ने भए पनि उनलाई पनि सरकारले  सिफारिसमा ढिलाई गरेको एक सहसचिवले सुनाए । 

शुक्रबार मात्रै पुनर्नियुक्त भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै राजदूत सिफारिस एक साताअघि भएको बाहिर ल्याएका हुन् । संसदीय सुनुवाइमा शुक्रबार संसद् सचिवालयमा नाम पठाइएको छ । सबै स्थानमा पूरा हुने गरी राजदूत सिफारिस भएको जानकारी ज्ञवालीले दिएका छन् । 

परराष्ट्र सेवाका सहसचिव काफ्ले अस्ट्रिया (भियना)का लागि राष्ट्रसंघ स्थायी प्रतिनिधिको रुपमा सिफारिस भएका छन् भने अमेरिकामा नियोग उपप्रमुख रहेर  केही समय अघि फर्केका जीवनप्रकाश श्रेष्ठलाई इजिप्ट चयन गरिएको हो । अन्य सबै राजनीतिक तहबाट सिफारिस भएकाहरु अधिकांश प्राध्यापक नै छन् । पूर्व मन्त्री,  पूर्व सांसद, पूर्व मेयर र एनजीओकर्मीलगायतकाहरू राजदूतमा सिफारिस छन् । 

पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिविका राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया, पद्‍मरत्‍न तुलाधरकी छोरी सुम्‍निमा तुलाधर- अस्ट्रेलिया, काठमाडौँ विश्वविद्यालयका जंगबहादुर चौहान-रुस, नारायणप्रसाद संग्रौला-म्यानमार, पूर्वमन्त्री युवराज कार्की-बहराइन, पूर्वसांसद कुलप्रसाद नेपाल- ब्राजिल र झापाकी सुमित्रा सुवेदी-डेनमार्कमा र मेराज मुसलमान-साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् ।

जापान र ओमानको भने चार महिना कार्यकाल थप गरिएकाले त्यहाँ भने नियुक्ति सिफारिस गरिएको छैन । सिफारिसमा परेकाहरू कूटनीतिबारेमा खासै जानकारी नराखेकाहरू परेका हुनाले यसमा लामो प्रशिक्षणसहित पठाउन पर्ने देखिन्छ । कूटनीति सेवामा पनि न्याय हुनेगरी सिफारिस हुन आवश्यक छ भने बाहिरबाट पनि सम्बन्धित मुलुक बुझेका व्यक्ति राजदूत बनाउँदा राम्राे हुने सुझाव विभिन्न चरणमा आइरहेको छ । तर, त्यसलाई बेवास्ता गरिएको देखिन्छ । 

सेवामा भएका भन्दा बाहिरबाट गएकाको काम गराई राम्राे छ । तर, बाहिरबाट पनि त्यो तवरको काम गर्न सक्ने क्षमता भएकालाई पठाउन आवश्यक छ । क्षेत्रगत विज्ञलाई पठाउन आवश्यक देखिए पनि अधिकांश त्यही गएर कूटनीतिको कखरा नपढुन् । सिफारिस भएका सबै नियुक्त हुँदा नेपालकाे कूटनीतिक नियोग भरिभराउ हुनेछ । यसरी भरिएका राजदूतमा २१ मुलुकमा कूटनीतिक सेवा बाहिरबाट राजदूत हुनेछन् भने ९ मुलुक र तीन राष्ट्रसंघीय स्थायी नियोगमा कूटनीतिक सेवाका राजदूत रहनेछन् ।  
 


Author

थप समाचार
x