प्रमुख समाचार

राजदूतहरू बल्ल सक्रिय बन्दै

ओमानबाट अक्सिजन सिलिन्डर केही बेरमा आइपुग्‍ने

इकागज |
जेठ १, २०७८ शनिबार १८:४६ बजे

काठमाडौँ :  कोभिड-१९ को महामारीसँग जुधिरहेका नेपालका लागि खाडी मुलुक ओमानबाट पाँच सय ६० अक्सिजन सिलिन्डर केही घण्टामा काठमाडौँ आइपुग्दै छन् । नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँ रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए)  र नेपालीप्रति सद्‍भाव राख्‍ने विदेशी तथा नेपालीसँगको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाइएको जानकारी दिइन् ।

ओमानले पनि बाहिरबाट खरिद गरेर ल्याएको भए पनि नेपाललाई आवश्यक परेको भनेपछि सिलिन्डर उपलब्ध गराएका हुन् । उक्त सामग्री नेपाल एयरलायन्सको विमानमार्फत अहिले केही बेरमा काठमाडौँ आइपुग्दैछ । ‘नेपालमा यस्तो अवस्था देखिएपछि आफूले जुम बैठकहरू राख्‍ने र सहकार्य गर्ने कार्य गर्दै आएको पनि उनले बताइन ।


मन्त्रालयबाट पनि निर्देशन आएपछि सहयोग जुटाउन ओमानमा रहेका नेपाली समुदायसँग छलफल गरेर प्रक्रिया अघि बढाइएको उनले बताइन । ‘सबै मिलेर सहयोग जुटाएका हौं । केहि घण्टामा अक्सिजन सिलिन्डरहरू काठमाडौँ पुग्‍नेछन्,’ राजदूत ढकालले सिलिन्डर पठाएपछि विमानस्थलबाटै टेलिफोनमा भनिन्, 'हामी सक्रिय रूपमा नै लागेका छौँ । थप सहयोगको पहल गर्दैछु । '

त्यस्तै थाइल्यान्डबाट पनि शुक्रबार २४ अक्सिजन सिलिन्डर नेपाललाई सहयोग स्वरुप आइपुगेको छ ।  कोभिडको दोस्रो लहरका कारण मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अत्याआवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेको थियो । आरम्भमा परराष्ट्र मन्त्रालय खासै गतिसिल देखिएको थिएन । तर, लगातार लेख र समाचार आएपछि मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउन पहल गर्न निर्देशन दिएको थियो । 

विश्‍वका विभिन्‍न  ३० मुलुकमा दुतावास र तीन सहरमा राष्ट्र संघीय स्थायी नियोग (न्यूयोर्क, जेनेभा, भियना) र ६ सहरमा वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्था अनुसार सहयोग गर्न लिखित पत्राचार परराष्ट्र केही दिन अघि गरेको हो ।

त्यसलगत्तै यूरोपेली महासंघ (ईयू) ले पनि २० लाख यूरो बराबरको आपत्तकालीन मानवीय सहयोग गर्ने तीन दिनअघि जनाइसकेको छ । बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ भ्याक्सिन तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीहरूसँग छलफल गर्दै खोप सहजिकरण गराउन पहल गरेका छन् । नेपालका लागि चीनले २० लाखसम्म भेरोसेल खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी उनले दिए । अन्य सामग्री पनि केही आएका र केही रहेका उनले बताए ।  

अमेरिकाबाट इन्डो प्यासिफिक कमाण्ड अन्तर्गत सहयोग आउने भएको छ ।  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले छिटै ठूलो परिणामको सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तराष्ट्रिय सञ्चार माध्यममार्फत सहयोगको याचना गरेका थिए ।

गैर आवासिय नेपाली संगठन (एनआरएनए) का अध्यक्ष कुमार पन्तले पनि नेपालको लागि सहयोग गर्न सबै नेटवर्कमा पहल गरिरहेको र दूतावासमार्फत सहयोग जुटेको बताए । ओमानबाट आउन लागेको सहयोगमा पनि राजदूत ढकालले एनआरएनए लगायतको सहयोग भन्दै पन्तलाई धन्यवाद दिनुले एनआरएनए पनि यसमा उत्तिकै सक्रिय रहेको देखिन्छ ।

नेपालका विकास साझेदारहरूलाई पनि सहयोगको लागि अपिल गर्न राजदूतावासहरूलाई परराष्ट्रले पत्र नै पठाएर भनेको छ । नेपालमा रहेका विदेशी विकास साझेदार र अन्य सहयोगी संस्थाहरूले पनि नेपालको यो संकटमा सहयोग गर्ने बताइरहेका छन् । तर कतिपय राजदूतले यसमा खासै सक्रियता देखाएका छैनन् । उनीहरूका लागि राजदूत पद आराम गर्न विदेश आए झैँ परेको छ । 


Author

थप समाचार
x