प्रमुख समाचार

अर्को सिजन रियल म्याड्रिडको स्वरुप कस्तो होला ?

इकागज |
जेठ ४, २०७८ मंगलबार ६:५१ बजे

काठमाडौँ : केही दिनयता जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने हल्ला चलिरहेको छ । रियलका पूर्व खेलाडीसमेत रहेका जिदानले सान्टियागो बेर्नाबेउ छाड्दा उनको स्थानमा को ? भन्‍ने प्रश्न उठेको छ । स्पेनी अखबार एएसले जिदानको स्थानमा मासिमिलियानो एलेग्री नियुक्त हुने सम्भावना रहेको लेखेको छ ।

एलेग्री इटालियन लिगमा सफल भएका प्रशिक्षक हुन् । उनले युभेन्टसलाई पाँच र एसी मिलानलाई एक पटक सिरी ए जिताए । सन् २०१९ मा युभेन्टस छाडेपछि भने एलेग्रीले कुनै क्लबको जिम्मेवारी लिएका छैनन् । यदि उनी रियल गए स्पेनी क्लबमा व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । केही मुख्य खेलाडीले क्लब छाड्नेछन् ।


नयाँ स्वरुपको रियलमा नयाँ प्रशिक्षकका साथै केही नयाँ अनुहार पनि थपिने छन् । सर्जियो रामोस, लुका मोड्रिच र करिम बेन्जेमा रियलका सबैभन्दा पाका खेलाडी हुन् । यी स्टारलाई प्रतिस्थापन गर्न युवा खेलाडी अनुबन्ध गरिने एएसले लेखेको छ । रियलको खरिद सूचीमा किलियान एमबाप्पे, एर्लिङ हालान्ड, एडुवार्डो कामाभिङ्गा र डेभिड अलाबा रहेको बताइएको छ ।

हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) मा रहेका एमबाप्पेले त्यहाँ सम्झौँता नविकरण गर्न मानिरहेका छैनन् । पीएसजीले फ्रेन्च फरवार्डलाई पेरिसमा राख्‍न प्रयास गरिरहेको छ । तर सम्झौँता नविकरणमा सहमति नहुने भए एमबाप्पेले आउँदो सरुवा बजारमा पीएसजी छाड्नेछन् । किनभने एमबाप्पेको पीएसजीसँगको सम्झौँता अर्को वर्ष सकिँदैछ । यदि एमबाप्पेको सम्झौँता नविकरण नहुने हो भने पीएसजीले उनलाई अर्को वर्ष विना स्थान्तरण रकम क्लब परिवर्तन गर्न दिनुपर्नेछ ।

हालान्डमाथि पनि रियलको नजर छ । तर नर्वेजियन फरवार्डलाई एमबाप्पेको विकल्पका रुपमा हेरिएको छ । अस्ट्रियन रक्षक अलाबा पनि रियलसँग जाडिँदै आएका छन् । हाल बायर्न म्युनिखमा रहेका अलाबा कयौँ पोजिसनमा खेल्न सक्छन् । उनी जारी सिजनको अन्त्यमा फ्रि-एजेन्ट बन्दैछन् ।

त्यसकारण रियल अलाबालाई स्थान्तरण रकम नतिरी अनुबन्ध गर्नसक्छ । अलाबा फ्रि-एजेन्ट बन्‍ने भए पनि थोरै क्लबमात्रै उनलाई अनुबन्ध गर्न सक्ने स्थितीमा छन् । कारण ? अलाबाको तलब । अलबाले रियलसँग एक करोड बीस लाख युरो (प्रति वर्ष) तलब मागिरहेको बताइएको छ । उनको माग पूरा गर्नसक्ने धेरै क्लब छैनन् । अलाबा अनुबन्धित भए रियलले रामोसलाई क्लब छाड्न दिने अनुमान गरिएको छ । 

रियलको नजरमा रहेका १८ वर्षीय मिडफिल्डर कामाभिङ्गालाई फ्रेन्च टिमको भविष्य मानिएको छ । १५ वर्षको उमेरमा रेन्सको सिनियर टिममा डेब्यु गरेका कामाभिङ्गा फ्रान्स अण्डर-२१ टोलीको नियमित सदस्य हुन् । उनले पटक पटक च्याम्पियन्स लिग खेल्ने इच्छा प्रकट गरेका छन् । तर उनको क्लब फ्रेन्च लिगको शीर्ष दुई वा तीनमा रहने सम्भावना छैन । त्यसकारण रेन्समै रहे, अर्को सिजन उनले च्याम्पियन्स लिग खेल्न पाउने छैनन् । यस्तो अवस्थामा रियलको प्रस्ताव कामाभिङ्गाले इन्कार गर्ने सम्भावना कम छ ।

फ्रान्सकै अर्का मिडफिल्डर पउल पोग्बा पनि रियलले अनुबन्ध गर्न चाहेको खेलाडी हुन् । पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने निधो गरे उनले युभेन्टस छनौट गर्ने सम्भावना धेरै छ । जिदानले रियल छाड्ने हल्ला चलिरहेकाले पनि पोग्बा रियल जान त्यति इच्छुक नहुने एएसको अनुमान छ । 


Author

थप समाचार
x