प्रमुख समाचार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन

लुम्बिनीमा माधव र महन्थ पक्षको भोट निर्णायक

अदालतबाट थमौति पाएका जसपाका ४ मन्त्री मतदानका लागि अयोग्य

विक्रम खड्का |
जेठ ७, २०७८ शुक्रबार ६:२२ बजे

बुटवल : रामबहादुर थापाको बागमती प्रदेशमा पराजयसँगै लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचन सत्तारुढ दलका उमेदवारलाई झड्का लागेको छ । पार्टी विवादका कारण कारबाहीदेखि अदालत धाइरहेका जनता समाजवादी पार्टीका ४ जना मन्त्रीले मतदान गर्न नपाउने भएपछि सत्तारुढ दलका उमेदवारलाई थप समस्या आइलागेको हो ।

उनीहरू चारै जना जसपाको महन्थ ठाकुर पक्षका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि उनीहरू गठबन्धन तोड्दै मुख्यमन्त्री शंकर पोखरेलको बचाउमा लागेका थिए । त्यसवापत उनीहरू चारै जनाले मन्त्री उपहार पाए । तर पार्टी निर्णय विपरित उनीहरूले काम गरेको अभियोगमा जसपाको उपेन्द्र यादव पक्षले कारबाही सिफारिस गरेपछि लुम्बिनी प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गरेको थियो । 


त्यसविरुद्ध उनीहरू २ जेठमा अदालत गरेका थिए । अदालतले भोलिपल्ट ३ जेठमा अल्पकालीन आदेश दिँदै तत्काल पदमुक्त नगर्न भनेपछि उनीहहरूको प्रदेश सभा सदस्यको पद थामिएको छ । अदालतको पूर्ण आदेश नआउन्जेल उनीहरूको पद अल्पकालका लागि थमौति भएको हो । अदालतको आदेशमा उनीहरूको पद थमौति भएपनि केही दिनमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उनीहरू योग्य भएनन् ।

किनभने निर्वाचन आयोगले ४ जेठमा प्रकाशित गरेको मतदाता सूचीमा उनीहरूकोे नाम छैन । अन्तिम मतदाता नामावलीमा नाम नभएका कारण उनीहरू मतदान गर्न अयोग्य भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उनले भने, ‘प्रदेश सभाका ७९ जनाको नाम मतदाता नामावलीमा छ, स्थानीय तहका पालिका प्रमुख र उपप्रमुख २ सय १७ जना मतदाता छन् ।’

राष्ट्रिय सभाको एक पदका लागि हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का उम्मेदवार छन् भने विपक्षी गठवन्धनका तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डे उमेदवार छन् । 

खड्का यसअघि माओवादी केन्द्रका तर्फबाट पदमा निर्वाचित भएका थिए । तर उनले पार्टी परिर्वतन गरी एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले बर्खास्त गरेपछि पद रिक्त भएको हो । त्यही खाली पदमा एमालेले उनै खड्कालाई उम्मेदवार बनाएको हो, बागमतीमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाए झैँ । 

नेकपा एमालेका प्रदेश अध्यक्ष लिला गिरी मतीय हिसाबले जित निश्चित भएको दाबी गर्छन् । उनी भन्छन्, ‘मतको हिसाब–किताब हेर्दा हाम्रै उमेदवारले जित्ने दावीका साथ उमृदवारी दर्ता गरेका छौं ।’

तर बागमतीमा प्रदेशमा एमालेकै माधवकुमार नेपाल पक्षले आधिकारिक उमेदवारलाई मतदान नगरेपछिको त्यही डर लुम्बिनीमा पनि देखिएको छ ।

एमालेबाट गत प्रदेश सभा निर्वाचनमा कपिलवस्तुबाट निर्वाचित दीर्घनारायण पाण्डे विपक्षी गठबन्धनका साझा उमेदवार बनेका छन् । केही समय अघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका उनलाई गठबन्धनले उक्त पदमा सघाउने गरी पार्टी परिर्वतन गराएका थिए । 

त्यसकारण उनी कांग्रेससँगै माओवादी केन्द्र, जसपाको उपेन्द्र पक्ष र जनमोर्चाका साझा उमेदवार हुन् । गणितीय हिसाबले चुनाव जित्नेमा ढुक्क देखिएका लुम्बिनीका विपक्षी गठबन्धनका दलहरू माधव नेपाल पक्षसँग आशावादी देखिएका छन् ।

बागमतीकै अवस्थामा लुम्बिनीमा पनि एमालेको माधव पक्षको भोट आफूहरूलाई आउने तर्क नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानको छ । उनी भन्छन्, ‘एमालेमा प्रधानमन्त्री ओली खेमावाहेकको मत आउने आउनेमा आशावादी छौं ।’ 

नेपाल पक्ष र ठाकुर पक्ष अलमलमा 

लुम्बिनीमा बागमतीको जस्तै अवस्था छैन । बागमतीमा नेपाल पक्षकै उमेदवार थिए । अर्थात् दुवै उमेदवारहरू एमालेका । त्यसमा पनि एक जना ओली पक्षका र अर्को नेपाल पक्षका रुपमा चिनिएका थिए । त्यसकारण बागमतीमा नेपाल पक्ष निर्वाचन जिताउन देखिएरै लागेको थियो । तर, लुम्बिनीमा एकजना एमालेका उमेदवार हुन् भने अर्का कांग्रेसका उमेदवार । 

लुम्बिनीमा नेपाल पक्षमा खुलेका प्रदेश सदस्य २ जना मात्र छन् । तर लुम्बिनीमा स्थानीय तहमा नेपाल पक्षको उपस्थिति राम्रै छ । गुल्मी, रुपन्देही नवलपरासी जस्ता जिल्लामा नेपाल पक्षमा देखिएका पालिका अध्यक्ष उपाध्यक्ष छन् । उनीहरूले मत कता राख्ने हुन् भन्ने विषय महत्वपर्ण देखिएको छ । 

प्रदेश सभा सदस्य ७९ मध्ये विपक्षी गठवन्धन दुई मतले बढी देखिएको छ भने स्थानीय तहको २१७ मध्ये पनि जसपालाई छाड्ने हो भने विपक्षीको मतभार बढी भएको दाबी उनीहरूको छ । 

त्यसो त, लुम्बिनी प्रदेशको यो निर्वाचनमा जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष पनि निर्णयक देखिएको छ । लुम्बिनी प्रदेश सभाका ६ मध्ये ४ जना मतदान गर्न नपाउने भएपनि बाँकी दुई जना विपक्षी दलसँगै निर्वाचनमा लागेका छन् । 

मतदान १७ जेठमा दाङमा हुँदैछ । निर्वाचनको आवश्यक तयारी अघि बढाइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।उमेदवारी दर्ता भएसँगै दुवै पक्षका उमेदवार मत माग्न व्यस्त देखिएका छन् । सत्ता पक्षले सत्ताको दुरुपयोग गर्न सक्ने आशंका विपक्षीले गरेका छन् ।

प्रदेश सदस्य भएर पनि मतदान गर्न नपाउने लुम्बिनी प्रदेशका मन्त्रीहरू सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी छन् । प्रदेश सभाका सदस्य दघिराम न्यौपाने र दिनेश पन्थी कारबाहीमा परेका छन् । त्यस्तै अम्मर बहादुर डागी र आफैँ उमेदवार रहेको दीर्घनारायाण पाण्डे पद त्याग गरेपछि सो पद खाली भएको छ । त्यसो त, लुम्बिनी प्रदेशका स्थानीय तहमा पनि केही पद रिक्त छन् । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x