प्रमुख समाचार

बुद्धजयन्तीमा सुनसान लुम्बिनी

विक्रम खड्का |
जेठ १०, २०७८ सोमबार ८:६ बजे

बुटवल : लुम्बिनी दिवस अर्थात बुद्धजयन्ती यस बर्ष पनि बन्दाबन्दीको कारण प्रभावित हुने भएको छ । सधैं भव्य समारोहकाबीच सम्पन्न हुने गरेको बुद्धजयन्ती यस बर्ष २५६५ वटा दीप प्रज्वलन गरेर, परित्राण पाठ गरेर सामन्य रुपमा मनाइने भएको हो । गतबर्ष पनि बन्दाबन्दीको कारण बुद्धजयन्ती पुजापाठमा सीमित भएको थियो । बुद्धको २५६५ औं बुद्धजयन्ती लकडाउनका कारण यस पटक पनि प्रभावित हुने भएको हो ।

विगतका बर्षमा राष्ट्र प्रमुख, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोभिड संक्रमणको कारण यस बर्ष औपचारिक कार्यक्रम नहुने भएको हो । बन्दाबन्दीको कारण गत बर्ष पनि पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस बर्ष पनि पुजा पाठ, दीप प्रज्वलन गरेर सामान्य रुपमा मनाउने तयारी गरिएको लुम्बिनी विकाष कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
 
२५६५ औँ बुद्धजयन्ती जेठ १२ गते परेको । विगतका बर्षमा अन्तराष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोभिडको कारण राम्ररी मनाउन पाइएको छैन । यस बर्ष पनि लुम्बिनी सुनसान छ ।  कोभिड १९ को दोस्रो लहर देखिएपछि निषेधाज्ञाकोबीच बुद्धजयन्ती सामान्य रुपमा मनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।  


यसपटक बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश बाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ  कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाई छ ।
 
शाक्यले भने – कोभिड संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं र संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुजापाठ हुन्छ । 

बुद्ध धर्ममा बैशाख पुर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । बैशाख पुर्णिमामा त्रिसंयोग परेको देखिन्छ ।  सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाकै दिन भएको थियो । उनले बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो । यसैगरी बुद्ध ८० बर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो । 

नेपाल लगायत बौद्ध राष्ट्रहरु भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, चीन लगायतका देशहरुमा बैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिन्छ । 

आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनी जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै “हिद बुधे जाते शाक्यमुनिति” अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेख सहितको ढुंगाको स्तम्भ खडा गरे जसलाई अशोक स्तम्भ भनिन्छ । 

उक्त स्तम्भ मायादेवी मन्दिरको पश्चिमपट्टी छ । सोही स्तम्भमा सन् १३१२ मा कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन “ओम् मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु” लेखेका छन् । बुद्ध जन्मिने बित्तिकै सात पाईला हिडेको बौद्ध धर्म दर्शनमा उल्लेख छ । उनी हिडेको भनेर मायादेवी मन्दिर परिसरमा जन्मस्मारक शिला पनि राखिएको छ । उक्त शिला सन् १९९६ मा पत्ता लागेको बताइन्छ ।
  
कपिलवस्तुका शाक्यमुनि राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थले २९ वर्षको उमेरमा दरबार छोडी निस्किएका थिए । पछि वैशाख शुक्ल पूर्णिमाकै दिन उनले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । ८० वर्षको उमेरमा बैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण मृत्युवरण गरे ।

विश्वमा बुद्धलाई कसैले भगवान, कसैले महामानव, कसैले शान्तिका दूत त कसैले एशियाका तारा भनेर सम्मान गर्छन् । बुद्ध बचनलाई अहिले पनि उत्तिकै महत्व दिने गरिएको छ । नेपालमा वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक बिदा दिन थालिएको हो ।
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x