नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औँ मुलुक गाम्बिया
काठमाडौँ : नेपालले पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग कूटनीतिक सम्बन्ध विस्तार गरेको छ । आफ्नो सम्बन्ध रहेको मुलुक बढाउँदै जाने क्रममा पछिल्लो समय अफ्रिकी मुलुकसँग नेपालले लगातर सम्बन्ध बढाइरहेको छ ।
राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाली स्थायी नियोग प्रमुख लाङ याबोयुले न्यूयोर्कस्थित नेपाली नियोगमा एक कार्यक्रमबीच संयुक्त समझदारी पत्रमा हस्ताक्षर गर्दै दुईपक्षीय सम्बन्ध कायम गरेका हुन् ।
नेपाल र गाम्बियाबीच न्यूयाेर्कमा सम्बन्ध स्थापित भए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरसलाई नेपाल र गाम्बिया दुबैले औपचारिक जानकारी गराएका छन् । राष्ट्रसंघका नेपाली नेपालमा स्थायी प्रतिनिधि राईका अनुसार, द्विपक्षीय सहकार्यलाई राष्ट्रिय र बहुराष्ट्रियस्तरमा दुई मुलुकलाई फाइदा हुने गरी अघि बढ्ने र सहकार्य गर्ने विचार दुवै पक्षबाट व्यक्त भएको थियो ।
गाम्बिया पनि नेपालजस्तै असंलग्न आन्दोलन र ग्रुप अफ-७७ को सदस्य हो । राष्ट्रसंघमा १३४ वटा विकासोन्मुख मुलुकहरूको गठबन्धन ग्रुप अफ-७७ समूहको नामले पनि गाम्बिया परिचित छ । पश्चिम अफ्रिकाको सानाे मुलुक गाम्बियासँगको सम्बन्ध स्थापनासँगै नेपालको मित्र मुलुकको संख्या १ सय ७० पुगेको छ । गाम्बिया सन् १९६५ देखि राष्ट्रसंघ सदस्य रहँदै आएको छ ।
नेपालले पछिल्लो समय यसरी कूटनीतिक सम्बन्ध स्थापना हुनुलाई पनि कूटनीतिको क्षेत्रमा भएको उल्लेख्य काम मध्येमा राख्ने गरेको छ । बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध राखेरअघि बढेको नेपालले पछिल्लो समय आफ्नो दायरा फराकिलो पार्दै गएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया