प्रमुख समाचार

कोभिडको दोस्रो लहर : कर्णालीमा संकटको सारथी बन्‍यो जुम्ला

लक्ष्मी भण्डारी |
जेठ १२, २०७८ बुधवार ९:३ बजे

सुर्खेत : कोभिड- १९ को दोस्रो लहरसँगै कर्णाली आक्रान्त बनेको छ । कोभिड संक्रमणकै कारण कर्णाली प्रदेशभर हालसम्म दुई सय १४ ले ज्यान गुमाए । संक्रमित बिरामीको चाप बढेपछि अस्पताललाई थेग्‍नै मुश्‍किल भयो । समयमै उपचारको अभावमा अधिकांशले ज्यान गुमाउन बाध्य भए । दैनिक पाँचदेखि १० जनाको शव प्रदेश अस्पतालबाट निकालिरहेको अवस्था छ । तर, जुम्लामा भने अन्य जिल्लामा जस्तो विकराल अवस्था देखिएन । बरु संक्रमितको चाप थेग्‍न नसकेका जिल्ला र अस्पतालहरूको सारथी बनेर काम गर्‍यो । प्रदेशका नजिकका जिल्लाहरूबाट उपचारको लागि रिर्फर भएर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने थालेका छन् । 

दुई साता अघि कालिकोटको कोभिड अस्पतालमा अक्सिजन अभाव भएपछि दुई जना संक्रमितलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर  गरिएको थियो । सोही दिन दिउँसो नै हुम्लाबाट एक जना कोभिड संक्रमितलाई उपचारका लागि जुम्ला नै पठाइयो । बिहीबार साँझदेखि स्वास्थ्यमा थप समस्या आएको थियो । त्यसैगरी एक साता अघि मात्र सुर्खेतका एक संक्रमित जुम्ला पुगेर उपचार गराएका थिए । 


सुर्खेत, कालिकोट र हुम्लाका संक्रमित मात्रै होइन, अब कर्णालीका अधिकांश संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गरेर उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत निमिक्त निर्देशक राजिव शाहले बताए । उनका अनुसार ३० भन्दा बढी संक्रमित अन्यत्र जिल्लाबाट रिर्फर भएर उपचार गराएका छन्  । 

जिल्ला अस्पतालमा अक्सिजन नहुनु, अक्सिजन र जनशक्ति अभावका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन नहुनु र प्रदेश राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालले थप संक्रमित भर्ना लिन सक्ने अवस्था नभएका कारण अब सिंगो कर्णालीका संक्रमितलाई उपचारका लागि जुम्ला नै आशाको केन्द्र बन्यो । यसरी अन्यत्र जिल्लाबाट पनि रिर्फर भएर जुम्ला आउन थालेपछि अक्सिजनको भने अभाव हुन थालेको शाहले बताए । प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर शाहका अनुसार हाल सुर्खेत, नेपालगञ्ज, कैलाली र दाङबाट समेत संक्रमित उपचारका लागि त्यहाँ पुगेको छन् । हाल प्रतिष्ठानमा दुई सय वटा अक्सिजनका सिलिण्डर रहेका छन् । 

जनशक्ति परिचालन मजबुत
कर्णालीका विभिन्‍न जिल्लासँगै सुर्खेत, नेपालगञ्‍जलगायत सहरी क्षेत्रका अस्पतालमा संक्रमितको मृत्यु भइरहँदा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भने छिमेकी जिल्लाहरूका भरोसाको केन्द्र बनेको छ । जिल्लाभर हालसम्म तीन सयसम्म संक्रमित रहेका छन् । 

यहाँको सबैभन्दा मजबुत पक्ष भनेकै जनशक्ति परिचालन रहेकाले सम्भव भएको बताउँछन् । प्रतिष्ठानमा ७० जना डाक्टर छन् । ती मध्ये ६ जना नेपालगञ्‍ज, रुकुममा दुई, कालिकोटमा दुई तथा रुकुममा समेत परिचालन भएका छन् । 

‘हामीले टिम वर्कमा काम गरेका छौँ जनशक्तिको समस्या छैन’ प्रतिष्ठानका निमिक्त निर्देशक शाहले भने, ‘यही जनशक्ति परचालनको कारणले काममा सहज भएको छ ।’ प्रतिष्ठानमा मात्र आठ जना डाक्टर र ६ जना कन्सल्टेन्सीलाई कोभिडकै कामको परिचालन गरिएको उनले बताए । 

त्यसैगरी यहाँका आठवटै पालिकामा डाक्टरहरू पुगेका छन् । उनीहरूले पालिकाका प्रभावित क्षेत्रमा गएर उपचार गर्ने गरेका छन् । ‘त्यसैले प्रतिष्ठानमा संक्रमितको चाप एकदमै कम देखियो र  हामीले कोभिडको पहिलो चरणबाट योजना बनाएर काम गरेका थियौँ’ उनले भने, ‘त्यही पहिलो चरणको योजना र टिमलाई परिचालन गरेर अघि बढेका छौँ । उक्त खटिएको टिमले प्रभावित क्षेत्रमा गएर काम गर्छ ।’ अस्पतालले संक्रमितको उपचारका लागि एक सय २० बेड आइसोलेसन, २४ बेड एचडीयु बेड, १२ वटा बेड आइसियु र १३ वटा भेन्टिलेटर छन् । जनशक्तिमा अब्बल भएकै कारण महामारीको समय प्रतिष्ठानले आफूलाई मजबुत बनाउँदै गएको र कर्णालीको संकट टार्ने अवस्थामा पुगेको छ ।


Author

थप समाचार
x