प्रमुख समाचार

चीनबाट थप स्वास्‍थ्‍य सामग्री आइपुग्यो

इकागज |
जेठ १६, २०७८ आइतबार २०:१० बजे

काठमाडौँ :  उत्तरी छिमेकी चीनबाट अर्को लट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भेन्टिलेटर लगायतमा स्वास्थ्य सामग्री आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदूत होउ यान्छीले जनाएकी छन् । उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदानमा दिएको हो । यसअघि पनि चीनले यस्तो स्वास्थय सामग्री उपलब्ध गराउँदै आएको छ । 

आइतबार हस्तान्तरण भएको लटमा ८ सय अक्सिजन सिलिन्डर, १० कस्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ जार एन्टिजेन किट्स रहेको राजदूतको ट्वीटमा उल्लेख छ । उनले उक्त सामाग्री तातोपानी भन्सारमा हस्तान्तरण गरिएको पनि जनाएकी छन् । चीनले यसअघि नै ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिन मंगलबार काठमाडौँ आइपुग्दैछ ।


शनिबार नै काठमाडौँ आइपुग्ने गरी चीन सरकारले तयार गरेको भए पनि नेपाल सरकारको उदासिनताको कारण मंगलबार बिहान आइपुग्ने भएको बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । चीनले आठ लाख बेइजिङमा र दुई लाख तिब्बतमा खोप तयार हालतमा बिहीबार नै राखेको हो ।

खोप दिने विषयमा चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाल समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन नै गरेर घोषणा गरेका थिए । त्यो घोषणा सँगै उनले अन्य सहयोग पनि रहने बताएका थिए । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न सक्दो सहयोग गर्ने जनाएको छ । नेपालले अन्य खोप पनि चीनबाट ल्याउन चाहेमा चीनले उपलब्ध गराउने यसअघि नै बताएको थियो । 


Author

थप समाचार
x