प्रमुख समाचार

प्रधानन्यायाधीश राणालाई न्यायाधीश केसी र श्रेष्ठले भने- इजलास छाड्‍दैनौँ

इकागज |
जेठ १८, २०७८ मंगलबार ८:२३ बजे

काठमाडौँ : प्रतिनिधिसभा विघटनको विवादमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश जवराले इजलासमा बस्ने वा छोड्ने विषयमा स्वविकेकीय अधिकार दिएका थिए । उनीहरूहरूले रिट निवेदकका पक्षले इजलास छोड्न भनेकै आधारमा आफूहरूले इजलास नछोड्ने प्रधानन्यायाधीशलाई जानकारी गराएका छन् । 

सुनुवाइ प्रारम्भ हुने बित्तिकै नेकपाको फैसला हेर्नुभएका न्यायाधीश केसीले इजलासमा बस्न नमिल्ने अधिवक्ता गोविन्द (बन्दी) शर्माले प्रश्न उठाएका थिए । इजलास गठनको विवादमा न्यायाधीश केसीले अघिल्लो पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा नाम विवादमा फैसला गरेको उल्लेख गर्दै उहाँहरू इजलासमा बस्न नमिल्ने रिट निवेदकका कानून व्यवसायीको तर्क छ । उनीहरूमाथि खासगरी वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टीकाराम भट्टराईले दुई न्यायाधीशमाथि प्रश्न उठाएका छन् ।


आजका लागि उक्त विवादमा सुनुवाइ तय भएको छ । आइतबार प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा केन्द्रित भएर ‘हेर्दाहर्दै’ मा तोकिएको थियो । 

उक्त विवादका ३० वटै रिट निवेदन परेका छन् । निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् ।  प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति  र  निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी भएको रिट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकाले पुनः प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिलेन भन्ने राष्ट्रपतिको यही जेठ ७ गतेको निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत भएको उल्लेख छ ।

रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था विपरीत  प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न नसक्ने भनी निर्णय गर्नु संविधानको मर्म र भावना विपरीत पनि भएको उल्लेख गर्दै सो निर्णय बदर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने  प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गते गरेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्न माग ती निवेदनमा गरिएको छ । रासस


Author

थप समाचार
x