प्रमुख समाचार

संवैधानिक इजलासमा परिवर्तन भएनन् न्यायाधीश

इकागज |
जेठ १८, २०७८ मंगलबार १०:१८ बजे

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् । मंगलबारको सुनुवाइमा संवैधानिक इजलासमा राणाका अतिरिक्त न्यायाधीशहरू दीपककुमार कार्की, डा. श्री आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ सामेल छन् ।

कानुन व्यवसायीहरूले नेकपा विभाजन सम्बन्धि फैसलामा संलग्न न्यायाधीशहरूलाई राख्‍न नहुने माग राखेका थिए । महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान लिएपछि विवाद उत्पन्‍न भएको थियो । इजलासमा बस्‍ने वा नबस्‍ने आफै निर्णय लिन आइतबारको इजलास हेर्दाहेर्दैमा टुंगिएको थियो ।


प्रधानन्यायाधीश राणाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश र प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजलासममा आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बमकुमार श्रेष्ठ छानेका थिए । 

कांग्रेस सभापति देउवाको नेतृत्वमा १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

उक्त रिट निवेदनमा देउवालाई समर्थन गर्ने सांसदहरूलाई दल त्याग ऐनअनुरुप कारबाही गर्न नमिल्ने जिकीरसहित अदालतले त्यसमा पनि आदेश गर्नुपर्ने माग राखेका थिए । त्यसअतिरिक्त कानुन व्यवसायीहरूको तर्फबाट प्रतिनिधि सभा पुन:स्थापना निम्ति ३० वटा रिटमाथि सुनुवाई हुँदैछ ।


Author

थप समाचार
x