प्रमुख समाचार

गणतन्त्रका लागि जेल बसेका वकिलहरूलाई प्रधानमन्त्रीले गरेको प्रहारको प्रतिकार गरौँ : शेखर कोइराला

इकागज |
जेठ १८, २०७८ मंगलबार १३:२३ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र कानुन व्यवसायीप्रति गरेको टिप्पणीलाई नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले हारेको मानसिकताको उपज भन्दै कडा टिप्पणी गरेका छन् । यस्तो टिप्पणी तानाशाह बन्‍न दिवास्वप्‍न देख्‍नेहरूले मात्र गर्छन् भन्‍दै उनले सबै पक्षले यसकाे सशक्त प्रतिकार गर्न आवश्यक रहेको पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले नै हुर्काएको भातृसंगठनलाई एक कार्यक्रम आयोजना गर्न लगाएर वकिलहरूमाथि खनिएका थिए । उनले कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन तह र हैसियतमा पुर्‍याउँदैछन् भन्दै सबैलाई सचेत हुन भनेका थिए । 


प्रधानमन्त्रीबाट यो तहको टिप्पणी आउनु लोकतन्त्रको निष्‍ठामा चाेट पुग्‍ने काम बाहेक अरु केही नभएकाे बताए छन् । गणतन्त्रको अवमूल्यन गर्ने अधिकार र छुट कसैलाई नभएको पनि कोइरालाले आफ्नो धारणा सामाजिक सञ्‍जालमार्फत बाहिर ल्याएका हुन् ।  हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री ओली ले त्यतिबेला गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्‍न भन्‍ने र अहिले गणतन्त्रका सबै आधारलाई कमजाेर पार्ने काम गर्नुले उनको नियतमाथि नै शंका रहेकाे आशय कोइरालाको छ । 

कोइरालाले सामाजिक सञ्‍जालमा राखेका भनाइ :

सन्दर्भ : प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरू र कानुन व्यवसायीहरू प्रतिको नकारात्मक टिप्पणी :

१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्‍न भन्‍नुहुन्थ्यो तर ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान ?

२. तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्‍न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।

३. पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु । मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरूप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्‍ने दिवास्वप्‍नको चाहना मात्रै हो । सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।


Author

थप समाचार
x