प्रमुख समाचार

जसपा विवाद

२७ जेठभित्रै प्रदेश-२ सरकार पुनर्गठन हुने

सुभाष कर्ण |
जेठ २३, २०७८ आइतबार ७:४ बजे

फाइल तस्बिर

जनकपुरधाम: जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा सहभागी भएको असर प्रदेश-२ सरकारमा पनि परेको छ । ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले सो समूहलाई प्रदेश सरकारबाट हटाउने गृहकार्य थालेको छ । यादव समूहले कांग्रेस, माओवादी केन्द्र र एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी बनाउने गृहकार्य थालेको छ । 

जेठ २७ गते प्रस्तुत हुने प्रदेशको नीति तथा कार्यक्रम अगावै सरकार परिवर्तन गर्ने गृहकार्यमा अध्यक्ष जुटेका छन् । गत दुई दिनदेखि जनकपुरधाम रहेका यादव अहिले पूर्वसमाजवादी पार्टीको संसदीय समितिसँग छलफलमा व्यस्त छन् । 


प्रदेश सभाको जेठ २४ मा बोलाइएको बैठक अगावै नै सरकार परिवर्तन गर्ने तयारी छ । तर, नयाँ बन्ने सरकारको नेतृत्वबारे कुरा मिल्न सकिरहेको छैन । प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले दाबी गरेको छ । 

तत्कालिन समाजवादी पार्टीका तराई मधेश प्रदेश समिति अध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले केन्द्रको विपक्षी गठबन्धनका सबै दललाई सहभागी बनाएर सरकार परिवर्तनको तयारी भएको जानकारी दिए । ‘सरकारमा कांग्रेस, माओवादी र एमालेको माधवकुमार नेपाल समूहलाई सहभागी गराउने गरी छलफल भइरहेको छ,’ यादवले इकागजसँग भने । 

नयाँ बन्ने सरकरमा कांग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको उनले स्वीकारे । तर आफूहरुसँग बढी सांसद भएकाले मिलाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘हामीसँग ३० सांसद पहिलादेखि नै छन् र पूर्वराजपाका केही सांसदसमेत हामीसँग रहेकोले अंकगणितीय हिसाबले पनि मुख्यमन्त्री हाम्रै पार्टीबाट हुन्छ । यसबारे दुवै पार्टीबीच छलफल भइरहेको छ,’ यादवले भने । 

जसपा संसदीय दलका उपनेता रामआशिष यादवले भने पूर्वराजपालाई हटाएर अन्य दलको सहभागितामा सरकार पुनर्गठन गर्न लागिएको बताए । वर्तमान मुख्यमन्त्री कायमै रहने र मन्त्री फेरिने उनले बताए । मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको भए पनि आफूहरूकै मुख्यमन्त्री रहनेगरी छलफल भइरहेको उनले बताए । 
सरकार परिवर्तनको तयारी भएपछि ठाकुर समूहका केही सांसदसमेत मन्त्री बन्ने आशमा यादव समूहलाई समर्थन गर्ने मनसायमा पुगिसकेका छन । उनीहरू अध्यक्ष यादवसँग सघन वार्तामा छन् । 

ठाकुर समूहका कार्यकारिणी सदस्यद्वय राजेन्द्र महतो पक्षधर सामाजिक विकास मन्त्री र महेन्द्र राय यादव पक्षधर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पनि आफूसँग केही सांसद र कार्यकारिणी सदस्य रहेको भन्दै वर्तमान मन्त्री पद यथावत राख्न कसरतमा रहेको र त्यसका लागि अध्यक्ष यादवसँग कयौं पटक भेटेर कुरासमेत गरिसकेको श्रोतको दाबी छ । 

कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादवले जसपाको ठाकुर समूह प्रतिगमनकारी ओली नेतृत्वको सरकारमा गइसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव अनुसार केन्द्रीय समीकरणको हिसाबले आफूहरू सहभागी भएर सरकार परिवर्तन गर्न लागिएको बताए । नयाँ बन्ने सरकारमा माओवादी र एमालेको नेपाल समूहको समेत सहभागिता रहने गरी छलफल भइरहेको उनले बताए । उनले कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरेको छर औपचारिक छलफल हुन बाँकी रहेको बताए । 

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरत साहले प्रदेश सरकारलाई आफूहरूले समर्थन गर्न र सरकारमा सहभागी हुन लागेको बताए । प्रदेशमा नयाँ सरकारका लागि केन्द्रीय समीकरण अनुसार समर्थनका लागि प्रस्ताव आएको उनको भनाइ छ । 

एमाले नेपाल संसदीय दलका नेता शत्रोहन महतोले सरकारमा सहभागिता वा समर्थनबारे अहिले केही भन्न नसक्ने बताए । केही कुरा प्रष्ट हुन बाँकी रहेकोले प्रदेश सरकारमा जाने/नजाने बारे निर्णय हुन नसकेको उनको भनाइ छ । 

अंकगणितीय हिसाबले जसपा यादव समूहसँग ३०, कांग्रेससँग १९ र माओवादीसँग ८ प्रदेश सभा सदस्य छन् । सरकार बनाउन ५३ प्रदेश सभा सदस्य आवश्यक पर्छ । ठाकुर समूहलाई अलग गरेर नयाँ सरकार गठन भए सभामुखसमेत परिवर्तन हुनेछन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x