प्रमुख समाचार

छोरी बचाउन बैंक खाता

लक्ष्मी भण्डारी |
जेठ २४, २०७८ सोमवार १०:१४ बजे

वीरेन्द्रनगर नगरपालिका

सुर्खेत : वीरेन्द्रनगर-८ का विजय पुलामीले गत माघमा छोरी जन्मिएपछि तुरुन्तै जन्म दर्ता गराए । अनि वीरेन्द्रनगर नगरपालिकाले एक हजार रुपैयाँको बैंक खाता खोलिदियो । छोरीको निःशुल्क बैंक खाता खोलेपछि विजयले खुशी व्यक्त गरे । ‘छोरीको बैंक खाता खोलेर नगरपालिकाले राम्रो कार्यक्रम ल्याएको रहेछ’ विजयले भने, ‘यसले हामी जस्ता दम्पतीलाई खुशी बनाएको छ ।’

विजयले नगरपालिकाले खोलिदिएको छोरीको खातामा पैसा जम्मा गरिदिने सोच बनाएका छन् । ‘छोरीको खातामा पैसा जम्मा गर्ने सुरु गर्न लागेका छौँ’ उनले भने, ‘यसले छोरीलाई एसईई पछिको पढाइमा सजिलो हुन्छ ।’ छोरीको निःशुल्क बचत खाता नगरपालिकाले खोलिदिएपछि वीरेन्द्रनगरका जीवन चौधरीको दम्पती पनि खुशी छन् । छोरीको खातामा रकम जम्मा गर्दै जाने र यसले छोरी ठूलो भएपछि पढाइमा खर्च गरिने जीवनले बताए ।


छोरी भए लिंग पहिचान गर्ने र गर्भपतन गर्ने नगरेका दम्पतीहरू छोरी जन्मिएपछि खुशी भएका छन् । नगरपालिकाले नगर क्षेत्रमा जन्मिने छोरीका लागि निःशुल्क बैंक खाता खोलिदिएपछि अभिभावक खुशी भएका हुन् । त्यसैगरी छोरी धेरै भएको भन्दै विभेद गर्ने समाजको अगाडि ति अभिभावक गर्भ गर्न सक्ने भएका छन् ।

नगर कार्यपालिकाको पहिलो बैठकले नगरभित्र जन्मिने छोरीको बैँकमा एक हजार रुपैयाँको बचत खाता खोलिदिने निर्णय गरेको थियो । नगरपालिकाले स्थानीय मेघा बैंकमा खाता खोलिदिने गरेको छ ।  लिंग पहिचान गरी छोरा भए राख्‍ने र छोरी भए गर्भपतन गर्ने प्रचलनलाई रोक्न छोरीको नाममा बैंक खाता खोलिदिने कार्यक्रम ल्याएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् ।

छोरा र छोरीबीचको विभेद न्यूनीकरण गर्न प्रोत्साहन स्वरूप यस्तो निर्णय गरिएको उपप्रमुख ढकालको भनाई छ । उनका अनुसार, ‘वीरेन्द्रनगरमा जन्मिने हरेक छोरीको बैंकमा बचत खाता नगरपालिकाले नै खोलिदिएको छ । छोरी जन्मिएकोमा गर्वको अनुभूति होस् भन्‍ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएका हौँ ।’

यो निर्णयले छोरी भएकै आधारमा हुने विभेदहरू न्यूनीकरण हुने नगरपालिकाले अपेक्षा गरिएको उनको भनाई छ । नगरपालिकाका अनुसार, आर्थिक वर्ष २०७४/०७५ बाट सुरुवात गरिएको अभियानमा हालसम्म झण्डै दुई सय ५० छोरीको बैंक खाता खोलिएको छ । नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सरला रेग्मीका अनुसार, चैत मसान्तसम्म दुई सय ३९ जना छोरीको बैँक खाता खोलिएको छ । कार्यक्रमले सकरात्मक प्रभाव पारेको उनले बताइन् । कार्यक्रमबाट अभिभावकहरू छोरी जन्मिएकोमा गौरव गर्न थालेको उनको भनाई छ ।

अधिवक्ता गीता कोइरालाका अनुसार नगरपालिकाको यस कार्यक्रमले छोरा र छोरीबीच हुने विभेदलाई कम गर्न सहयोग पुग्‍ने बताइन् । नगरपालिकाले सुरुवात गरेको यो अभियानमा सुर्खेतका छिमेकी स्थानीय तहहरूले पनि यसको सिको गर्न थालेका छन् ।

त्यतिमात्र होइन कर्णाली सरकारले पनि नगरपालिकाको यस कार्यक्रमको अनुसरण गर्दै आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा छोरी सुरक्षा कार्यक्रम ल्याएको छ । जसमा प्रदेशमा जन्मने छोरीको बैंक खाता खोलिदिने र मासिक पाँच सय रुपैयाँ जम्मा गरिदिने कार्यक्रम ल्याएको छ ।


Author

थप समाचार
x