प्रमुख समाचार

प्रदेश-१ सभामा सत्तापक्ष र विपक्षीको जुहारी

लीलावल्लभ घिमिरे |
जेठ २५, २०७८ मगलवार २०:० बजे

विराटनगर : सोमबारबाट सुरु भएको प्रदेश-१ को बजेट अधिवेशनमा सरकार पक्षधर र विपक्षी दलहरूबीच जुहारी सुरु भएको छ । प्रदेश सभाको अधिवेशन सुरु भएको पहिलो दिन सरकारसँग विपक्षी दलका प्रमुख नेताहरू आक्रोसित बनेका थिए । उनीहरूले शुभकामना मन्तव्य दिने क्रममा सरकारको चर्को विरोध गरे । 

त्यसको उत्तर दिँदै मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेकै माधवकुमार नेपाल समूह र सरकारबाट वाहिरिएको माओवादी केन्द्रप्रति आक्रोस पोखे । मंगलबारको बैठकमा पनि दलका नेताहरूको आक्रोस कम देखिएन ।


माओवादी संसदीय दलका नेता इन्द्रवहादुर आङ्बोले विषेश समयमा प्रदेश-१ को नामकरण प्रधानमन्त्री केपी ओलीले रोकेको दाबी गरे । प्रधानमन्त्रीले जे नाम राख्‍न खोजेका थिए, त्यसमा आफूहरूले उतिबेलै असहमति जनाएकाले नामकरणको विषय फेरि मुख्यमन्त्रीले छलफलमा ल्याउन नचाहेको आङ्बोको आरोप थियो । उनले अहिलको पाराले प्रदेशको नामांकन हुन नसक्ने दाबी गरे । 

नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले ढुंगा गिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारलाई आफ्नो धारणा सार्वजनिक गन सुझाए । बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर सरकार यस विषयमा गम्भीर नभएको आरोप लगाए । 

मंगलबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले कोभिड-१९ नियन्त्रण, रोकथाम र यसबाट बच्न अझ सक्रिय भएर काम गर्नु पर्नेमा सरकारको ध्यानाकर्षण गरेका छन् । कांग्रेस सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरिन् । संक्रमितहरू अक्सिजन नपाएर मर्नुपर्ने अवस्था भएको भन्दै उनले सरकारको विरोध गरिन् । 

माओवादी सांसद झलकसिंह दर्लामीले विश्व महामारीका बेला सरकारले आफ्नो लक्ष्य र भूमिका भुलिरहेको आरोप लगाए । झापाको दमकमा प्रहरीले सुकुम्बासीलाई दमन गरेको आरोप उनको थियो । माओवादीका अर्का सांसद नारायण बुर्जामगरले समानुपातिक ढंगले सरकारले बजेट वितरण गर्नुपर्नेमा जिल्लागत रूपमा हेर्दा खानेपानीको लागि बजेट विनियोजनमा भेदभाव भएको बताए । 

कांग्रेस सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ जिल्ला कोभिडबाट अति नै प्रभावित भएको भन्दै  अक्सिजन प्लान्ट निर्माण गर्न ताप्लेजुङमा एक करोड बजेट तत्काल विनियोजन गर्न आग्रह गरे । 

सांसद बलबाहादुर साम्सुहाङले ताप्लेजुङको विमानस्थलको नाम फेर्न चालेको संघीय सरकारको कदमको विरोध गर्दै भने, “युवा नेताको नाममा राख्न खोजिएको छ । तर, स्थानीयसंग समेत सरसल्लाह भएको छैन ।” माओवादीकी सीतादेवी थेवेले ताप्लेजुङको सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम नफेर्न माग गरिन् ।

कांग्रेस सांसद लीला सुब्बाले बजेट कहाँ कता गयो भन्ने प्रश्न गर्दै पहिलेका कार्यक्रमहरू नै लाथलिङ्ग बनेको बताइन् । 


 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x