प्रमुख समाचार

राष्ट्रसंघमा पहिलो पटक महिला मात्र रहेको समिति निर्वाचित

समितिमा नेपालबाट र्‍यापोटरको भूमिकामा प्रथमा चयन

इकागज |
जेठ २७, २०७८ बिहिवार १०:५९ बजे

काठमाडौँ : राष्ट्र संघको आर्थिक र वित्तिय समितिमा नेपालले (आगामी महासभाको लागि) संयोजक (र्‍यापोटर) को भूमिका निर्वाह गर्ने भएको छ । राष्ट्रसंघको ६ समितिमध्ये यो दोस्रो महत्वपूर्ण समितिमा हाल नेपाल अध्यक्ष छ । आगामी महासभासँगै नेपालले आफ्नो अध्यक्षता माल्टालाई बुझाउने छ र आफू र्‍यापोटरको भूमिकामा रहनेछ । 

यो भूमिका नेपालको तर्फबाट परराष्ट्रकी उपसचिव प्रथमा उप्रेतीले निर्वाह गर्नेछिन् । उनी न्यूयोर्कस्थित नेपाली नियोगमा कार्यरत छिन् । आर्थिक र वित्तिय समितिभित्र एसिया प्रशान्तको तर्फबाट नेपाल अध्यक्ष चयन भएको थियाे । नेपाल अध्यक्षता ७६ औँ सेसनको आरम्भमा नै माल्टालाई बुझाउने छ । यो समितिमा अध्यक्ष, तीन उपाध्यक्ष र एक संयोजक (र्‍यापोटर) हुने प्रचलन छ । अध्यक्षता बुझाएको मुलुक नै (र्‍यापोटर)  हुँदै आएको छ ।


त्यो समितिमा अध्यक्ष रहेका नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईसँग प्रथमाले सहकार्य गर्दै आएकी थिइन् । अध्यक्ष रहँदा उनले गरेको काम र खटाईलाई ध्यानमा राखेर नै उनी र्‍यापोटरमा चयन भएकी हुन् । संयोग भनौँ या कूटनीतिमा महिलाको प्रवेश बाक्लिँदो भनौँ  राईले अध्यक्षता हस्तान्तरण गर्दा उक्त समितिमा सबै महिला प्रतिनिधि हुने भएका छन् ।

दोस्रो समिति अन्तरगत बनेको कमिटीलाई अहिले 'अल वुमन ब्युरो अफ सेकेन्ड कमिटी' भनिएको छ । आर्थिक तथा वित्तिय समितिको अध्यक्षमा यूएनको लागि माल्टाकी आवासीय प्रतिनिधिले नेतृत्व गर्नेछिन् । अहिले क्षेत्रीय रोटेसनमा माल्टाको नेतृत्वमा जाँदा यो समितिमा अध्यक्ष तीन उपाध्यक्ष र र्‍यापोटर नै महिला भएका हुन् । यसलाई यूएनभित्र विरलै जुरेको संयोगको रुपमा हेरिएको छ । समितिमा यसरी सबै महिला रहेका राष्ट्रसंघकै इतिहासमा पहिलो हो ।

माल्टाबाट अध्यक्ष, उपाध्यक्षहरूमा डोमिनिक गणतन्त्र, इरिट्रिया र पोल्यान्ड छन भने र्‍यापोटरमा नेपाल । नियोगले उक्त समितिमा प्रथमाले गत वर्षदेखि काम गरेकीले उनलाई नै चयन गरी पठाएको हो । उनले समितिमा रहेर नियोगको तर्फबाट काम गर्नेछिन् । त्यहाँ व्यक्तिको योगदान रहन्छ तर निर्वाचित हुने मुलुक हो ।


Author

थप समाचार
x