प्रमुख समाचार

मेलम्चीको पानी धारामा आउन अझै एक महिना लाग्‍ने

यांग्री र लार्केको पानी ल्याउन गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज |
जेठ २७, २०७८ बिहिवार १४:४८ बजे

काठमाडौँ : मेलम्चको पानी वितरण गर्न फेरि एक महिना लाग्‍ने भएको छ । सुरुङ खाली गरेर प्राविधिक परीक्षण गर्न एक महिना लाग्‍ने खानेपानी तथा सरसफाई मन्त्रालयले जानकारी दिएको छ ।

चैत २१ गते देखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो । प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि फेरि पानी पठाउन थालिने भनिएको छ ।

मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब १० दिन, परिक्षणका लागि केही दिन र  पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने छ । त्यसअवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए । वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिए । हाल मेलम्चीबाट न्युनतम् प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड  लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न निर्देशन दिएका हुन् ।


Author

थप समाचार
x