प्रमुख समाचार

ओलीका 'विश्‍वास पात्र' महेश बस्‍नेत किन मन्त्री भएनन् ? भन्‍छन्- 'सहयोद्धाहरूले मेरो सफलता देख्‍न सकेनन्'

इकागज |
जेठ २८, २०७८ शुक्रबार ९:४ बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्‌ विस्तार गर्नुअघि गृहमन्त्रीमा चर्चाको नाम थियो महेश बस्‍नेत । केही समयअघि देखि मन्त्रिपरिषद्‌ विस्तार हुनुअघि मन्त्री हुनेमा सबैभन्‍दा पहिला बस्‍नेतकै नाम आउँछ तर नियुक्ति अर्कैले लिन्छ । यो पटक पनि भयो त्यस्तै नै । प्रचारमा आए बस्‍नेत, तर गृहमन्त्री भए खगराज अधिकारी ।

युवा संघभित्र पनि बस्‍नेतलाई मन्त्री नबनाएपछि असन्तुष्टि बढेको छ । बस्‍नेतकै भाषामा भन्‍नुपर्दा पार्टीभित्रै विरोध आएकाले उनी ओली नेतृत्व सरकारको २५ सदस्यीय मन्त्रीमण्डल भित्र परेनन् । 'मेरो सहयोद्धा कमरेडहरू मन्त्री बनाउने पक्षमा र बनाउन हुँदैन भन्‍ने पक्षमा व्यापक लाग्‍नुहुन्छ' मन्त्रिपरिषद्‌ विस्तार लगत्तै बस्‍नेतले सामाजिक सञ्‍जालमा लेखे 'हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्‍ने ठान्छन् । मेरो विरोधी साथीहरुलाई म झन धेरै धन्यवाद दिन चहान्छु, जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै मैले सिकेको सिकाई हो र उपलब्धि पनि ।'


पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको बस्‍नेतको दाबी छ । बस्‍नेतले त्यति मात्रै दाबी गरेका छैनन् उनले देशभरका युवा र एमाले कार्यकर्ताको मन जितेको पनि प्रष्ट्याएका छन् । ' मेरो राजनीतिक जीवनमा पद प्राप्ति ठुलो विषय कहिले बनेन, पार्टी नीति, नेतृत्व र निर्देशन सदैब पालना गरेर अगाडि बढेको छु' उनले लेखेका छन् 'परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु, पार्टीभित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाव र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु ।'

'कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोशमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्ता भ्रममा कोही नपरौँ म जहाँ छु त्यहीँ रहनेछु  र म जे छु त्यही छु, पद नपाउँदा विचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्‍नेछ । मेरो राजनीतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ । पटक-पटक अग्‍नि परीक्षामा होमिन तयार छु ।'

ओलीका 'प्रिय' पात्र बस्‍नेत मन्त्री किन भएनन् त सबैको चासो छ । खासमा ओलीले नरुचाएर बस्‍नेत मन्त्री नभएका भने होइनन् । बस्‍नेतलाई मन्त्री बनाउनुपर्छ भन्‍दै ओलीले अडान लिएपछि मन्त्रिपरिषद्‌ विस्तार गर्न ढिला भएको थियो । ओली समूहभित्र प्रधानमन्त्री ओलीले बस्‍नेतलाई मन्त्री बनाउनुपर्ने दबाब दिँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नचाहेको कारण उनी मन्त्री नबनेको टिकाटिप्पणी सुरु भएको छ ।

मन्त्रिपरिषद्‌ विस्तार गर्दा बस्‍नेतलाई पनि समेट्‍नुपर्ने भन्‍दै ओली बुधबार साँझ राष्ट्रपति भण्डारीसँग छलफलका लागि शीतल निवास गएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच गृहमन्त्री बनाउने पात्रका विषयमा कुरा बाझिएको थियो । ओलीले बस्नेतलाई गृहमन्त्री बनाउन चाहेका थिए भने राष्ट्रपति भण्डारीले बस्नेतलाई गृहमन्त्रीका रुपमा शपथ गराउन इन्कार गर्दै आएको भन्‍दै इकागजले बुधबार साँझ नै समाचार प्रकाशित गरेको थियो ।


Author

थप समाचार
x