प्रमुख समाचार

पदीय मर्यादा र विश्‍वविद्यालयको स्वायत्तताको सम्मान गर्न पूर्वउपकुलपतिहरूको आग्रह

इकागज |
असार १, २०७८ मंगलबार १८:४३ बजे

काठमाडौँ : पूर्वउपकुलपतिलहरूले पदीय मर्यादा र विश्‍वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलगायतका निकायहरूलाई विधिअनुरुप काम गर्न दिन सरकारसँग माग गरेका छन् । १२ पूर्वउपकुलपतिहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका हुन् । 

झापास्थित बीएडन्सी मेडिकल कलेजलाई अवैध प्रक्रियाबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्‍वविद्यालय र आयोगको स्वायत्ततामा पटक/पटक हस्तक्षेप गर्दै आएकोले त्यसो नगर्न उनीहरूले आग्रह गरेका हुन् । 


‘काठमाडौं विश्‍विद्यालयले चिकित्सा शिक्षा सञ्‍चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएडन्सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानुनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई आइतबार सम्बन्धन दिने सिफारिस निर्णयमा हस्ताक्षर गर्न वा पद छाड्न प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएका थिए । ‘डा. श्रीकृष्ण गिरीको जायज अडानका कारण वहाँलाई गम्भीर धम्कीहरू आउन थालेका कुराहरू पनि सञ्‍चार माध्यमहरूमा आउन थालेका छन् । यसरी जो कसैलाई पनि इमान्दारी र नैतिकतामाथिको चुनौतीस्वरूप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्न परेमा त्यसबाट हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले विज्ञप्ति जारी गरेर हस्तक्षेप नगर्न आग्रह गरेका हुन् । 


Author

थप समाचार
x