प्रमुख समाचार

बेलायतद्वारा नेपालसहित दक्षिण एसियाली मुलुकलाई दिँदै आएको सहायतामा भारी कटौती

इकागज |
असार २, २०७८ बुधवार १३:५५ बजे

काठमाडौँ : बेलायतले नेपालसहित दक्षिण एसियाली मुलुकलाई दिँदै आएको सहयोगमा भारी कटौती गरेको छ । पूरानो भित्रराष्ट्र बेलायतले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आईपीपीएफ)मार्फत् सहयोग गर्दै आएको करिब एक सय मिलियन अमेरिकी डलर अनुदान कटौती गरेको हो । 

महासंघमा नेपाल परिवार नियोजन संघसहित विश्‍वका १४१ मुलुकका परिवार नियोजन संघ आबद्ध छन् । अब ती देशका सीमन्तकृत किशोर किशोरी, युवा तथा महिलाहरू यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्‍चित हुनेछन् । बजेट कटौतीको असर विशेष गरी ती देशका मानवीय विपद् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रत्यक्ष असर पुर्‍याउने जनाइएको छ ।


साथै सहायता कटौतीले ती देशमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा सञ्चालित परियोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा. नरेशप्रताप केसीले सहायता कटौतीले संघले कार्यान्वयन गरिरहेको पहुँच परियोजना बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । परियोजना बन्द हुँदा किशोरी तथा महिला यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट बञ्‍चित हुने उनले बताए ।

यसबाट विशेषगरी मानवीय विपद् क्षेत्रका लगभग एक लाख बीस हजार सीमान्तकृत तथा जोखिम समुदायका व्यक्ति ती सेवाबाट प्रत्यक्ष प्रभावित हुनेछन् । सङघले सहायता कटौतीले सेवा प्रभावितका साथै केही दक्ष सेवा प्रदायक तथा कर्मचारीको कटौतीमा पनि पर्ने देखिने जनाएको छ ।

संघले हरेक चुनौतीका अगाडि नयाँ सम्भावना पनि हुने जनाउँदै आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्म यौन तथा प्रजनन् स्वाथ्य सेवा निरन्तर जारी राख्‍ने व्यवस्थापक डा. केसीले बताए ।

सामान्य तथा मानवीय विपद्‍का अवस्थामा पनि स्वास्थ्य र सेवामा समर्पित रहने संघले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यौन तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’लाई हटाउने हालै निर्णय गगरेका थिए । सो निर्णय लगत्तै बेलायतले पनि दक्षिण एशियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सहायता बजेट कटौती गर्ने निर्णय गरेको बताइएको छ । रासस


Author

थप समाचार
x