प्रमुख समाचार

अमेरिकाबाट नेपाल घुम्‍न आएका महावीरले कसरी गरे आविष्कार केन्द्र स्थापना ?

युवा 'बेचेर' देश धनी हुन्‍न

अनिल अधिकारी |
असार ३, २०७८ बिहिवार १३:३६ बजे

अमेरिका : 'आज भन्दा २० वर्ष पहिले सिकागोमा को-को हुनुहुन्थ्यो । सहभागीहरू कसैले पनि हात उठाएनन्,' बुधबार अमेरिकाको सिकागोमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले साेधेका थिए । पुन अमेरिकाबाट नेपाल किन फर्किए ? अनि नेपालमा किन आविष्कार केन्द्रकै नाममा अड्किए भन्दै  त्यसबारेमा समेत उल्टै उनलाई सोधे ।

'म अमेरिकाबाट नेपाल केही गर्छु भनेर गएकै होइन् । म खासमा घुम्‍न गएको थिएँ,' कुरा नलुकाई नचपाई प्रष्ट बोल्ने महावीरले बुधबार सिकागोमा आविष्कार केन्द्रका नाममा देशविदेशमा सहयोग माग्दै हिँड्नु र आविष्कार केन्द्रको जन्म हुनुको भूमिका बताइरहेका थिए, 'म त्यतिबेला अलिक समय घुम्छु अनि हेर्छु भनेर गएको थिएँ । केही गर्न सकिन्छ कि भन्‍ने सोचेको चाहीँ थिएँ है । मैले एउटा कुरा निश्चित गरेको थिएँ । जागिर चाहीँ खान्‍न भनेर ।' 


नेपालमा केही समय प्राध्यापनसमेत गरेको पुरानो अनुभव उनले सुनाउँदै थिए । पुनले म्याग्दीको विकट ठाँउमा पुगेर इन्टनेट सुविधा स्थापना गरेको, गाउँलेहरूको सक्रियतामा सामाजिक अभियन्ता बनेको, देशविदेशबाट सम्मान पाएको सबै प्रष्ट भाषामा सुनाउँदै थिए । पुनले भने 'म नेपाल फर्किएपछि काठमाडौँमा पाल्ने कोही पनि थिएनन् । गाउँतिर हल्लिएर बाँच्‍न सजिलो हुन्छ भनेर म गाउँ गएँ । कम्यूनिटी डेभलमेन्टको काम गर्न सुरु गरियो, त्यो पनि गाउँलेकै आइडियामा । जानेर लागेको होइन्, एनजिओको सहयोगमा पनि होइन् । ठट्टै-ठट्टामा वायरलेस इन्टरनेटको काम भयो । यसरी एक दुई वर्ष घुमेर आउँछु भनेको मान्छे उतै बसेँ । विदेशको मान्छेले मलाई खोजेर पुरस्कारसमेत दिन थाले । पर्यटन र स्थानीयस्तरको आर्थिक समृद्धिका लागि काम गरियो । यसरी काम गर्दा गदैै वर्षौँ बितेछ । यसरी होइन नेपालमै केही गर्नुपर्ने रहेछ भन्‍ने हिसाबले आविष्कार केन्द्रको स्थापना भयो ।'

अब उनी आविष्कार केन्द्रको स्थापना भएको बेलिबिस्तार तर्फ लागे । 'देश गरिब भयो, देशको विकास भएन भन्‍ने कुरामा सोच्‍न थालेँ । अनि युवाहरू विदेशमा पलायन भए भन्‍ने कुराले पनि मलाई छोयो,' उनले भने, 'प्राकृतिक, साँस्कृतिक रुपले र धर्मका हिसाबले धनी छौँ । नेपाल अन्य हिसाबले धनी छ तर देश किन गरिब भयो भन्‍ने खोज्‍न थालियो ।'

'मुलुकले पैसा नकमाएका कारण गरिब भएको रहेछ । नेपालले पैसा कमाएको भए रोजगारीको सिर्जना हुन्थ्यो युवाहरू देशमै हुन्थे, मुलुकको धन बाहिर जाँदैनथ्यो,' उनले भने । अमेरिका, जापान तथा अन्य सम्पन्‍न मुलुकहरू हेर्नुहोस् त देशले पैसा कमाएका कारण धनी भएका हुन् । मैले पैसा कमाउनु पर्ने रहेछ भन्‍ने ज्ञान प्राप्त गरेँ । मुलुकले पैसा कमाउनका लागि व्यापार गर्नुपर्दछ भन्‍ने लाग्यो,' उनले भने । 

'पैसा कमाउनका लागि सामान बेच्‍नु पर्दछ । दिमाग बेचेर पनि पैसा कमाइन्छ भन्‍ने लाग्छ । दिमाग बेच्‍ने भनेको सिर्जनशील युवाहरूको प्रतिभा बेच्‍ने हो । यही हो आविष्कार केन्द्रको आइडिया,' उनले भने, 'नेपालमा सियो पनि उत्पादन हुँदैन भन्‍ने तपाईलाई थाहै छ, अर्थ मन्त्रालयको वेभसाइडमा गएर हेर्नुस त्यहाँ तपाईले प्रष्ट देख्‍न सक्नुहुन्छ । गत वर्ष ७५ करोडको सिसाकलम, २३ करोडको तास किनेको रहेछ । यसको अर्थ हुन्छ, नेपालीहरूले व्यापार गर्नै जानेनन् ।' 

उनले मुलुकले अन्य कुरामा व्यापार गर्न नजाने पनि मान्छेको व्यापार गर्न भने जानेको बताए । अलिक भावुक हुँदै पुन थप्छन्, 'त्यो भनेको युवा शक्तिलाई विदेश पठाएर मुलुकले पैसा कमाएको छ ।' गत वर्ष १२ खर्बको सामान आयात गर्‍यो । ९ खर्ब भन्दा बढी रेमिट्यान्सबाट आएको छ । मान्छे बेचर पैसा चाहीँ कमाएको रहेछ । अर्थात श्रम बेचेर मात्रै मुलुकको विकास हुँदैन ।' 

'देश समृद्ध नहुनुको कारण मुलुकभित्र सामान बनाएर तथा उत्पादन गरेर बेच्‍न सकिएन्' अर्थ मन्त्रालयको डाटा प्रस्तुत गर्दै उनले भने, 'अघिल्लो वर्ष ९३ प्रतिशत आयात भएको छ भने ७ प्रतिशत मात्रै निर्यात भएको छ । व्यापारकै भाषामा भन्दा आम्दानी भन्दा खर्च धेरै भयो ।' 

हलमा उपस्थित प्राय: व्यापारिक पृष्ठभूमिका मान्छे बढी छन्, भन्‍ने उनलाई लागेछ कि कुन्‍नी पुनले भने 'हेर्नुस त देशमा त घाटाको व्यापार भइरहेको छ, घाटाको व्यापार गरेर मुलुक उभो लाग्दैन् । मुलुकलाई समृद्ध बनाउने एउटै मात्र मन्त्र भनेको व्यापार घाटा घटाउनु हो, त्यसका लागि मुलुकमै सामान बनाउनु पर्‍यो । युवाहरूलाई रोक्नु पर्‍यो ।'

मुलुक समृद्ध नहुनुको कारण बेलिबिस्तार बताएपछि उनले आविष्कार केन्द्र मुलुकको समृद्धिका लागि जन्मिएको उल्लेख गर्दै मुलुकभित्रै केही गरौं र देशलाई विकासको गतिमा दौडाउने बाचासहित सबैसँग सहयोगको अपेक्षा गरे ।


Author

थप समाचार
x