प्रमुख समाचार

सरकारले निषेधाज्ञालाई सत्ता जोगाउने अस्त्र बनायो : कांग्रेस

इकागज |
असार ३, २०७८ बिहिवार २१:१६ बजे

काठमाडौँ : सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने अस्त्रका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै कांगेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड-१९ को विस्तार भएको र निषेधाज्ञा गर्नुपर्ने स्थिति आएको बताए । उनले निषेधाज्ञालाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरिरहेको बताए । 

उनले भने, ‘लकडाउनको अवस्थामा नागरिकहरु जति नै सरकारसँग असन्तष्ट भएपनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरुले आफ्नो सत्ता जोगाउने कवचको रुपमा लकडाउनलाई लिइरहनु भा'छ।'


महतले संक्रमणबाट दुःखी हुनुपर्ने, यसलाई कसरी चाँडोभन्दा चाँडो कम गर्ने, रोक्ने भन्‍नु पर्नेमा सत्तामा हामी झन सुरक्षित भयौँ भन्ने हिसावमा सरकार रहेको बताए । 'कोही विरोधमा निस्किन सक्दैन । बाहिर आउन मिल्दैन भनेर उहाँहरू यसमा सहज महसुस गरिरहनुभाछ,’उनले भने ।

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्नेगरी प्रस्ताव पेस भएको छ भने स्थानीय तहको महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले बताए । 

कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरी उपर छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए । उनले भने, ‘६ गतेसम्म उजुरी दिन समय राखेका छौँ । गुनासाहर" आएका छन् । भोलिदेखि गुनासा र उजुरी हेरेर निष्कर्ष निकाल्छौँ । अन्तिम नामावली फाइनल गर्न लाग्छौँ ।’

बैठकले सिन्धुपाल्चोकको बाढीको घटनामा दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्दार र राहतमा लाग्‍न भनेको छ ।


Author

थप समाचार
x