प्रमुख समाचार

इंगल्यान्डविरुद्ध स्कटल्यान्ड : विश्वकै सबैभन्दा पुरानो फुटबल भिडन्त

इकागज |
असार ४, २०७८ शुक्रबार १३:५६ बजे

ग्राफिक्‍स : दी टेलिग्राफबाट

काठमाडौँ : अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा पुरानो भिडन्त इंगल्यान्डविरुद्ध स्कटल्यान्ड नै हो । यी दुई टिम अन्य टिम भन्दा धेरै पटक एक-आपसमा खेलेका छन् । तर मुख्य प्रतियोगितामा भने भने इंगल्यान्ड र स्कटल्यान्ड जम्मा दुई पटक मात्रै आमनेसामने भएका छन् । त्यो पनि युरोमा ।

इंगल्यान्ड र स्कटल्यान्ड पछिल्लो पटक युरो १९९६ मा भिडेका थिए । जसमा विजयी भएको थियो, इंगल्यान्ड । त्यसकारण यसपटक स्कटल्यान्डसँग बदला लिने मौका छ । उता ग्यारेथ साउथगेट भने जितसहित आफ्नो टिमलाई युरोको अन्तिम १६ मा पुर्‍याउन चाहन्छन् । संयोगबस साउथगेट २५ वर्षअघि स्कटिस टिमविरुद्ध जित निकाल्ने इंग्लिस टिमको हिस्सा थिए । यद्यपि साउथगेटले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डविरुद्ध जित निकालेर युरोको प्रि-क्‍वार्टरफाइनल प्रवेश गर्न सजिलो भने नभएको सन्देश दिइसकेका छन् । 


‘स्कटल्यान्डसँगको खेल अन्य खेलभन्दा फरक हुने छैन । हाम्रो उदेश्य यो खेल जित्दै अन्तिम १६ पुग्‍ने हो । हामी त्यसमै केन्द्रित हुनेछौँ,’ साउथगेटले भने । जारी युरोमा यसअघि नै इटाली, बेल्जियम र नेदरल्यान्ड्सले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् ।

इंगल्यान्ड र स्कटल्यान्डबीचको खेल लन्डनको वेम्बली रंगशालामा हुनेछ । कोभिड-१९ प्रोटोकलका कारण २२ हजार पाँच सय दर्शकलाई मात्रै रंगशाला प्रवेश अनुमति दिइनेछ । त्यसमध्ये २५ सय स्कटिस समर्थक हुनेछन् । तर टिकट नभएका हजारौँ स्कटिस समर्थक पनि लन्डन पुगिसकेका छन् ।  

समूह डी मा हाल चेक गणतन्त्र तनि अंक सहित शीर्षस्थानमा छ । इंगल्यान्डले उति नै अंक बटुले पनि समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा चेक गणतन्त्रसँग २-० ले पराजित भएको स्कटल्यान्डले अन्तिम १६ को सपना जिवित राख्‍ने भए इंगल्यान्डबाट अंक खोस्‍नु पर्नेछ । 

स्कटल्यान्डसँग इंगल्यान्डलाई स्तब्ध बनाउने क्षमता नभएको होइन । त्यसमा पनि आर्सनलका रक्षक केरन टिर्नेको पुनरागमनले स्कटिस टोली थप बलियो बनेको छ । ‘केरनको पुनरागमनले हामीलाई उत्साहित बनाएको छ,’ स्कटल्यान्डका मिडफिल्डर स्कट म्याकटोमिनेले भनेका छन् । उता इंगल्यान्डका सबै खेलाडी फिट छन् । रक्षक ह्यारी मग्वायेर पनि टिममा फर्किसकेका छन् । इंगल्यान्डले क्रोएसियालाई हराउँदा म्यानचेस्टर युनाइटेडका कप्तान अनुपस्थित थिए । 


 


Author

थप समाचार
x