प्रमुख समाचार

केन्द्रीय विशेष समितिमा राणा र घर्ती नपरेपछि कमल थापाको चर्को आलोचना

इकागज |
असार ५, २०७८ शनिबार १७:३७ बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा शुक्रबार केन्द्रीय विशेष समिति गठनमा अध्यक्ष कमल थापाले मनोमानी गरेको भन्दै चर्को विवाद भएको छ । अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले वरिष्ठ नेताहरूलाई समेत पञ्‍छाएर एकलौटी गर्दै समिति बनाएको भन्दै धेरै नेताहरू असन्तुष्ट भएका हुन् । 

दुई पार्टी मिलेर एक भएको राप्रपामा थापाको तर्फबाट विशेष समितिमा १३ र लोहरी र राणाको तर्फबाट १२ जना राखिएको छ । त्यसमा थापाका पक्षका पूर्वमहामन्त्री धवल शमशेर राणा र वरिष्ठ नेता बलराम धर्ती मगर नपरेपछि नेताहरू असन्तुष्ट बनेका हुन् । राणा अहिले नेपालगञ्‍ज महानगरपालिकाका नगर प्रमुखसमेत हुन् । 


थापाले केही दिन अघिमात्रै सामाजिक सञ्जाल ट्‍वीटरमा पार्टीलाई भाइरस प्रवृतिबाट जोगाउन सके राप्रपालाई अग्रणी शक्ति बनाउन सकिने बताएका थिए । 'यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन,' थापाले ट्‍वीटरमा लेखेका थिए, 'गणतन्त्र,संघियता र धर्मनिरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यंभावी छ। विगतका घटनाक्रम यसको प्रमाण हो ।'

त्यसको दुई तीन दिनपछि केन्द्रीय विशेष समिति गठन हुने र वरिष्ठ नेताहरू नपर्ने भएपछि कतै उनीहरूलाई त थापाले भाइरस भनेका त होइनन् भन्‍ने प्रश्न पनि उठेका छन् । यतिसम्म कि थापासँग संघीय संसद्‍मा पार्टीमा एकमात्र सदस्य राजेन्द्र लिङदेनले वरिष्ठ नेताहरू नपरेकोमा असन्तुष्टी जनाएका छन् । राप्रपामा अहिले ठूला पदमा जितेका भनेका राणा र लिङदेन हुन् । त्यसमा पनि राणालाई विशेष समितिमा राख्‍न नसक्नु थापाको महान कमजोरी भएको नेताहरूको तर्क छ । 

वरिष्ठ नेता बुद्दिमान तामाङले  सामाजिक सञ्‍जाल फेसबुकमा अध्यक्षत्रय र अन्य नेताहरूलाई हतार र आवेशमा नआई संयम रहन आग्रह गरेका छन् ।
'हामीले मुलुकको सर्वोत्तर हित र राप्रपाका लाखौँ कार्यकर्ताको भविष्य हेरेर छातिमा हात राखेर विवेकसम्मत निर्णय गर्नुपर्छ,' तामाङले फेसबुकमा लेखेका छन्, 'यस अवस्थामा म अध्यक्षत्रय र अन्य नेताहरूलाई हतार र आवेशमा नआई संयम रहन आग्रह गर्दछु । यो परिस्थितिलाई हामी अनुकूल बनाउन प्रयासरत छौँ । यतिबेला आम कार्यकर्तालाई शिष्ट, शालीन र धैर्य रहन अपिल गर्दछु ।'

केही नेताले त राणाले आफू अध्यक्षमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेको बनाएपछि थापाले बेलैमा पञ्छ्याउन विशेष समितिमा नराखेको रूपमा पनि अर्थ्याएका छन् ।  थापा आफैले आफूविरुद्ध उम्मेदवार बन्छु भन्नेलाई कसरी विशेष समितिमा राख्‍ने भनेर स्पष्टीकरण दिइरहेका छन् । 


Author

थप समाचार
x