प्रमुख समाचार

रोबिन गोसेन्स, जसको जर्सी साट्ने प्रस्ताव इन्कार गरेका थिए रोनाल्डोले

इकागज |
असार ६, २०७८ आइतबार १०:३२ बजे

काठमाडौँ: युरो २०२० मा शनिबार जर्मनीले पोर्चुगलमाथि ४-२ को जित दर्ता गर्दा नायक बने रेबिन गोसेन्स । २६ वर्षीय विङब्याक/फुलब्याक गोसेन्सले एक गोल गरे भने काई हाबर्टसलाई गोलका लागि असिस्ट उपलब्ध गराए । 

सिरी 'ए' मा एटलान्टाबाट खेल्ने गोसेन्स जर्मन राष्ट्रिय टिममा पर्न थोलेको धेरै भएको छैन । उनलाई गत सेप्टेम्बरबाट मात्रै योकिम लोले टिममा समावेश गर्न थालेका हुन् । उनको उदय एटलान्टाबाट खेल्न थालेपछि मात्रै सम्भव भएको हो । संयोगवस, एटलान्टा इटालियन लिगमा बलियो टिमका रूपमा स्थापित हुँदैगर्दा गोसेन्स त्यस क्लबको महत्वपूर्ण हिस्सा बनेका छन् ।


एटलान्टा इटालीमा थोरै बजेटमा राम्रो टिम निर्माण गर्ने क्लबका रूपमा परिचित भएको छ । एटलान्टाका स्काउटले उत्कृष्ट प्रतिभाको पहिचान गर्ने गरेका छन् । ती प्रतिभामध्ये गोसेन्स पनि एक हुन् । जसलाई जुलाई, २०१७ मा डच लिगबाट इटाली लगिएको हो । गोसेन्स हेराक्लेस अल्मेलोबाट खेलिरहेका थिए । 

गोसेन्स सन् २०१२ मा मात्रै नेदरल्यान्ड्स पुगेका हुन् । जहाँ भिटेससँग आवद्ध भए । उमेर समूहका टिमबाट खेले । तर त्यहाँ सिनियर टिममा भने मौका पाएनन् । त्यसकारण उनी हेराक्सतर्फ हानिए । उनले सिनियर टिममा मौका पाए र दुई सिजन डच लिग खेले । डच लिगमा देखाएको प्रदर्शनले उनलाई सिरी ‘ए’ मा पुर्‍यायो । त्यहाँ पनि उनको तारिफयोग्य लयले निरन्तरता पाएको छ । 

फिलिप लाह्मले सन्यास लिएपछि जर्मनीलाई भरपर्दो लेफ्टब्याकको जरुरी थियो । रुस विश्‍वकपमा जर्मनीको लेफ्टब्याक बनेका थिए, हेक्टर मोरेनो । तर बुन्डेसलिगामा मोरेनोको प्रदर्शन जर्मन टिमको पहिलो एघारमा पर्ने स्तरको नभएपछि लोले नयाँ लेफ्टब्याकको खोजी सुरु गरे । अनि उनको नजरमा परे गोसेन्स । 

सिरी ‘ए’ मा एटलान्टाले प्रयोग गर्ने शैली र युरोमा जर्मनीले खेलिरहेको शैली उस्तै छ । तीन सेन्ट्रल डिफेन्डर खेलाउने र फुलब्याकलाई विङब्याकका रुपमा उपयोग गर्ने । त्यस प्रकारको शैलीसँग अभ्यस्त गोसेन्सले जारी युरोमा लोलाई निराश बनाएका छैनन् । 

उनै गोसेन्सले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई हराउन उल्लेख्य भूमिका निर्वाह गरे । पोर्चुगलविरुद्धको जित गोसेन्सका लागि विशेष रह्यो । त्यसको कारण गोल र असिस्ट मात्रै होइन । रोनाल्डो पनि हुन् । किनभने गोसेन्सको रोनाल्डोसँग जोडिएको रोचक किस्सा छ । जसलाई गोसेन्सले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन् । 

सिरी ‘ए’मा एटलान्टा र युभेन्टसको खेल सकियो । त्यसपछि गोसेन्सले रोनाल्डोसँग जर्सी साट्न चाहे । फुटबलमा जर्सी साटासाट गर्नु सामान्य हो । त्यसमाथि पनि रोनाल्डो जस्ता ठूला स्टारसँग युवा खेलाडीहरूले जर्सी साट्ने इच्छा व्यक्त गर्नु झनै सामान्य हो । फेरि गोसेन्स त रोनाल्डोलाई आफ्नो आइडल पनि मान्थे । 

तर गोसेन्सको प्रस्ताव रोनाल्डोले ठाँडै इन्कार गरे । ‘मलाई एकदमै ग्लानी भयो । मैले आफूलाई एकदमै सानो महसुस गरे । रोनाल्डाले जर्सी साट्न इन्कार गरेको अरु कसैले देख्यो कि भनेर चिन्ता पनि लाग्यो,’ गोसेन्सले पुस्तकमा उल्लेख गरेको अनुभवलाई गोल डटकमले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 


Author

थप समाचार
x