भाषणको संगालो र जर्नलको लाेकार्पण
क्षेत्रीय/उपक्षेत्रीय संगठनको औचित्य सकिएको भए विघटन गरौँ : सार्क अध्यक्ष प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरूको औचित्य सकिएको भए त्यसलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका ओलीले सार्कको नाम नै नलिइकन विश्व कूटनीति चलायमान हुने उल्लेख गर्दै निश्चित कालखण्डपछि क्षेत्रीय तथा उपक्षेत्रीय संगठन पनि बन्द हुन सक्ने र नयाँ संरचनामा जान सकिने बताए ।
समयअनुसार संगठनहरूलाई चुस्त बनाउँदै नलैजाने हो भने त्यसको भार सदस्य राष्ट्रले बोकिरहन नहुने उनले बताए । ‘भित्र-भित्रै गुम्सिएर बस्नु भन्दा खुलस्त कुरा राख्न आवश्यक हुन्छ,’ सार्कका अध्यक्ष ओलीले भने, ‘कुनै पनि संगठनको उपयोगिता साँच्चै सकिएको हो भने त्यसलाई विघटन गर्न सकिन्छ र गर्नु पनि पर्छ । अन्यथा चलायमान बनाउनुपर्छ ।’
शिखरसम्लेलन गर्न नेपाल तयार
प्रधानमन्त्री ओलीले यदि सार्क शिखर सम्मेलन गराउने विषयमा सदस्य मुलुकहरूबीच मनमुटाव हो भने नेपाल शिखर सम्मेलन गर्न तयार रहेको बताए । उनले कतिपय बैठक भर्चुअल र कतिपय बैठक उपस्थित भएर गराउन सकिने पनि बताउँदै भने, ‘हामी सार्क शिखर सम्मेलन गराउन तयार छौँ । सबैलाई सार्क चाहिन्छ भने यसलाई जीवित र चलायमान बनाउन आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरूको लोकार्पण कार्यक्रममा त्यस्तो धारणा राखेका हुन् । पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको सवा तीन वर्षे कार्यकालमा नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भाषण र केही अन्तर्वार्ताको संगालो ‘फरेन पोलिसी अफ नेपाल : ओरेन्टेसन र प्रायोरिटिज’ प्रकाशित नामक पुस्तकको प्रशंसा गरे ।
उक्त पुस्तकको लोर्कापण गर्ने क्रममा नेपालको परराष्ट्र नीति पनि चलायमान रहेको भन्दै उनले प्राथमिकता स्पष्ट रहेको बताए । अबको विश्वमा हामीले कस्तो व्यवस्था चाहन्छौ त्यो स्पष्ट रहेको उनले बताए । नेपाल विश्वमा १९ मुलुक स्वतन्त्र रहँदा पनि एक स्वतन्त्र मुलुककाे रूपमा थियो । त्यस्तो मुलुक कसैसँग झुकेर हिड्न नपर्ने उनले बताए ।
राष्ट्रवादमा द्वैध चरित्र
नेपालबारेमा राम्रा कुरा गर्दा यहाँका पूर्व प्रधानमन्त्रीलाई टाउको दुख्छ अनि अनेकन कुरा गरेर हिँड्छन भन्दै प्रधानमन्त्री ओलीले भने, ‘उनीहरूले त्यही व्यक्ति ल्याउँदा र कार्यकारी प्रमुख बनाउँदा राष्ट्रवादी हुने मैले त्यही व्यक्तिको सारथी लगेर विना सम्झौता उपकार्यकारी बनाउँदा अराष्ट्रिय हुने ? यस्तो अराजकता मैले संसारमा देखेको छैन ।’
हामीले हिनताबोध गर्नु पर्दैन भन्दै प्रधानमन्त्री ओलीले भने ‘दूई ठूला छिमेकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर अघि बढ्नुपर्छ । हामी एकको विरुद्ध अर्काको कार्ड खेल्दैनौ ।’ हाम्रो सम्बन्ध हामीले परिभाषित गर्ने हो अरुले होइन भन्दै त्यसमा यो सरकार स्पष्ट रहेको उनले बताए ।
'हामी शान्तिको पक्षमा छौ र लोकतन्त्र–मानवअधिकारको पक्षमा पनि छौँ तर त्यसो भन्दैमा अराजकता देखिन भएन नि,' उनले भने, 'हामीले नागरिकलाई नि:शुल्क परीक्षण र खोपको व्यवस्था गरेका छौँ । खोप ल्याउन केही समस्या भएको छ तर त्यसको मतलव यस्तो होइन कि अरुले पाए हामीले पाएनौँ ।' धनी मुलुकहरूले समेत नसकेको काम वर्तमान सरकारले गरेकाे उनले दावी गरे । ऋणको पासोमा पर्ने गरि नजाने पनि उनले बताउँदै भने, 'राष्ट्र हित हेरेर ऋण लिने छौँ ।'
ईपीजीको अल्झन
'नेपाल र भारत सम्बन्ध सुमधुर बनाउन प्रवुद्ध व्यक्ति समुह (ईपीजी) बनाएर काम गर्यौँ । प्रतिवेदन तयार भयो तर त्यसमा कुरा अघि बढेको छैन, पक्कै त्यसले स्थान पाउने छ कुरा हुनेछ', उनले भने । भारत र बेलायत बसेर सन्धि गर्ने अनि नेपाललाई जानकारी दिएर त्रिपक्षीय भन्ने विषयमा पनि प्रश्न उठाएपछि त्यसमा बहस हुन थालेको उनले बताए ।
सम्बन्धहरू पुर्नभाषित हुन्छन भन्दै त्यसमा भारतले पनि स्पष्ट हुन पर्ने बताए । 'पूर्व प्रधानमन्त्रीहरू माइक्रो म्यानेजमेन्ट नगर भन्छन र लोकतन्त्रको धज्जी उडेको छ के हेरिरहेको भन्दै छिमेकी उक्साउने काम गरिरहेका छन्' भन्दै उनले भने ,'त्यो कस्तो चाहना हो ? सिधै हस्तक्षेप गर भन्नु चाहिँ राष्ट्रवाद, अनि जसले त्यस्ता प्वालहरू बन्द गर्दै जान्छ उ नक्कली राष्ट्रवाद ?’
'हुन त, कतिपयलाई गणतन्त्र चाहिएको छैन, अनि सम्पादक बोलाएर राष्ट्रपति भन्दा राजा नै ठीक भनिरहेका छन्,' प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति आलंकारिक हो । सरकारले गरेको निर्णयलाई स्वीकार गरेको न हो ।’
'चुच्चे नक्सा बनेको छ त्यो अब कसैले चाहेर हट्दैन अनि सबैलाई त्यसमा पनि टाउको दुखेको हुनुपर्छ' उनले भने, ‘राजनीतिमा पनि भ्रम फिजाउने काम गर्न थालेका छन् । यो दु:खद हो । संसदमा माइकले हान्नेहरूलाई लाइनमा ल्याउन सहज छैन । त्यो धेरै टाढा पनि छैन ।’ उनले अधिक समय विपक्षीलाई गाली गरे भने आफूले हटाएका परराष्ट्रमन्त्री ज्ञवालीको प्रशंसामा व्यस्त रहे ।
भाषण महाशाखाको किताब परराष्ट्र मन्त्रीको
परराष्ट्रमन्त्री ज्ञवालीले पनि महाशाखाले लेखेर दिएको भाषणलाई आफनो बनाएर प्रकाशनमा ल्याँउदै पुस्तक नै बनाए । अनि त्यो परराष्ट्रको वेव पोर्टलमा सधै राख्न पर्ने विषयलाई राज्यको ढुकुटी नै खर्चेर प्रकाशनमा ल्याएका हुन् । उनले यसरी आफ्नो कुरा ल्याउँदा यसअघिका मन्त्रीका यस्तै भाषणहरू पनि ल्याउन आवश्यक थियो, होला । तर, त्यसतर्फ सोच्न नै पाएन आईएफएले ।
उनले आफूले घुमेको र बोलेको लय बद्ध राखे अनि आफूले मुलुकलाई देखिने र सुनिने बनाएको बताए । उनले तीन वर्ष परराष्ट्र मन्त्री भएर पनि केन्द्रबाट परराष्ट्र संचालन गर्न सकेनन् अनि हटाइए पछि भने, ‘एउटा केन्द्रबाट मात्र होइन विभिन्न कोणबाट परराष्ट्र संचालन हुने हुँदा समस्या रह्यो ।’ उनले यसलाई सुधार गर्न पनि सुझाउन भ्याए ।
बलियो सरकारको लामो परराष्ट्र मन्त्री रहँदा सुधार गर्न नपर्ने अनि बाहिर आएर विभिन्न कोणबाट परराष्ट्र मामिला चलेको बताउने र त्यही परराष्ट्रको बजेटमा महाशाखाले लेख्दिएको भाषणलाई आफ्नो बनाउने उनको शैली पनि शालीन छ ।
सामाजिक, आर्थिक, राजनैतिक एवं कूटनीतिक हरेक हिसाबले केन्द्रमा रहँदै आएको नेपालको परराष्ट्र नीति एवं अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन अनुसन्धानकर्ताको लागि उक्त प्रकाशित पुस्तक उपयोगी हुने दावी समेत गरिएको छ ।
कोभिड-१९ को महामारीले नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति लगायतका क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा खोजमूलक अध्ययन अनुसन्धानात्मक लेखहरूको एकीकृत संग्रहको पुस्तक पनि प्रकाशित छ । 'कोभिड-१९ मल्टिडिसिप्लिनरी न्यारेटिभ्स : कन्ट्रिब्युसन टु नेपाल्ज फरेन आफेर्यस' नामक पुस्तक पनि त्यही लोकार्पण भएको हो ।
जर्नल सुरु गर्यो आईएफएले
नेपाल सरकारले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि अन्तराष्ट्रिय सहकार्य र संकटको अवस्थामा दातृराष्ट्रहरू एवं अन्य संघ संस्थाहरूबाट प्राप्त भएको सहयोग विवरणहरूको अभिलेख संग्रह ‘नेपाल्ज इफोर्टस टु एड्रेस कोभिड-१९ क्राईसिस थ्रो इन्टरनेसनल इन्गेजमेन्ट’ पुस्तक पनि प्रकाशन गरेको छ ।
माथिका तीनै पुस्तकको उपदेयीता खासै देखिदैन तर आइएफएले पहिलो पटक पियर रिभ्यू सहितको जर्नल अर्थात 'जर्नल अफ फरेन आफेर्यस' को पहिलो अंक प्रकाशनमा ल्याएको छ । यो कार्य उपयोगी छ । यो आइएफएको महत्वपूर्ण काम मध्ये एक हो भने अन्य कार्य भनेको परराष्ट्रको दबाव र प्रभावमा भएको स्पष्ट छ।
जर्नलमा अन्तर्राष्ट्रिय सीमा, नेपालको सौम्य शक्ति, श्रम कूटनीतिमा दुई पक्षिय एवं बहुपक्षिय सहयोगको पहलकदमी, कोरोना महामारीपछिको नेपालको कूटनीति लगायतको विषयहरू रहेका छन् । समसामयिक एवं दिर्धकालिन विषयहरूमा खोज, अनुसन्धान र प्रकाशनमा प्रतिष्ठान निरन्तर लागि परिरहेको छ ।
परराष्ट्र मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, भू-राजनीति, राष्ट्रिय सुरक्षा, कूटनीतिक मामिला लगायतका क्षेत्रमा भएका सकारात्मक कार्यहरू एवं सुधार गर्नुपर्ने विषयहरूलाई भविष्यमा सुधार गरी प्रभावकारी बनाउन प्रकाशित पुस्तकहरू महत्वपूर्ण सन्दर्भ सामाग्रीको रुपमा उपयोगी हुने आइएफएले जनाएको छ ।
बदलिदो विश्व शक्ति सन्तुलनसँगै परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध संचालनमा अनेकन चुनौतीहरू थपिदै गएको पृष्ठभूमिमा, नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई रणनीतिक उपायहरूका बारेमा, नीति निर्माणको तहमा पृष्ठपोषण उपलब्ध गराउन थिंक ट्यांकको रुपमा काम गर्दै आएको छ ।
कार्यक्रममा आईएफएका कार्यकारी निर्देशक राजेश श्रेष्ठले स्वागत र परराष्ट सचिव भरतराज पौड्यालले धन्यवाद दिएका थिए । केही पत्रकार, केही अध्येता, आईएफएका कार्यसमिति सदस्य र परराष्ट्रका सहसचिवहरूको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया