प्रमुख समाचार

मौलापुरका नगर प्रमुख र उप-प्रमुख रिक्त : नगरका काम कसले गर्ने ?

सुभाष कर्ण |
असार १२, २०७८ शनिबार १८:३३ बजे

जनकपुरधाम : रौतहट जिल्ला मौलापुर नगरपालिकाका प्रमुख र उप-प्रमुख बर्खास्त भएसँगै कसरी काम गर्ने अन्यौल पैदा भएको छ । प्रमुख नभएमा उपप्रमुखले कार्यभार सम्हाल्ने र उपप्रमुख खालि भएमा प्रमुखले तोकेको कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइने कानुनी व्यवस्था छ । 

तर एकैचोटि दुवै पद रिक्त भएपछि अब कार्यपालिकाको नीति, नियम र योजना छनौटलगायतका कार्य सञ्चालन कसले गर्ने समस्या उत्पन्न भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।


माओवादी केन्द्रले प्रमुख रिनाकुमारी साह र उप-प्रमुख गौरीशंकर प्रसाद एमालेमा गएसँगै दल त्यागअनुरूप बर्खास्त गर्ने निर्णय लिएको थियो । निर्वाचन आयोगले असार ११ मा दल त्यागअनुरूप पद खालि भएको घोषणा गरेको हो । 

माओवादी केन्द्रको दल त्यागेको सूचनाका आधारमा आयोगले असार ११ गतेदेखि लागू हुने गरी देशका १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको आयोगले पद रिक्त भएको घोषणा गरेको थियो ।
प्रशासकीय अधिकृत साहले इकागजसँग भने, ‘योजना छनौटदेखि कार्य विभाजन, आर्थिक विनियोजनलगायतका कार्य प्रमुख र उप्रमुखबाट हुने कानुनी व्यवस्था छ । अब दुवै रिक्त भएपछि काम कसले गर्ने भन्ने कानुनी जटिलता र अन्यौलता श्रृजना भएको छ । त्यसमा कानुनविद्हरूसँग सरसल्लाह गरिरहेको छु ।’

ऐनमा प्रमुख–उपप्रमुख अनुपस्थित रहेको अवस्थामा कार्यपालिका बोर्डको जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसाउन सक्ने व्यवस्था त छ । तर त्यो नीति निर्माण र अत्यावश्यक निर्णय गर्न मात्र हो । योजना छनौट, सिफारिस, आर्थिक विनियोजनको अधिकार छैन । 

साह भन्छन्, ‘यस्तो अवस्थामा सरकारले कुनै वैकल्पिक व्यवस्था नगरेसम्म नगरपालिकाको चालु आर्थिक वर्षको विकास निर्माणको कार्य अवरुद्ध मात्र हुँदैन कि आगामी आर्थिक वर्षका लागि समेत योजना छनौट हुन सक्दैन ।’

अब हुने के ?

संविधानमा प्रमुख वा अध्यक्षको पद रिक्त भएमा त्यसको कार्यभार उपप्रमुख वा उपाध्यक्षले कार्यवाहकको रूपमा सम्भाल्ने व्यवस्था छ । तर दुवै पद रिक्त भएको अवस्थामा एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था छ ।

संविधानको धारा २१६ को उपधारा ६ बमोजिम प्रमुख÷उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको पदावधि निर्वाचित भएको दिनदेखि पाँच वर्ष तोकिएको छ । सो संवैधानिक व्यवस्था अनुसार पदमुक्त भएका जनप्रतिनिधिको पदावधि पाँच पुगेको छैन ।

कानूनविद् राजकुमार महासेठका अनुसार, यस्तो अवस्थामा संविधानको धारा २१६ को उपधारा ९ बमोजिम प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षको पद रिक्त हुन गएमा एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेको समयमा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था छ । उक्त संवैधानिक व्यवस्था अनुसार मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकाल एक वर्षभन्दा बढी बाँकी रहेकाले उपनिर्वाचनबाट गर्नुपर्ने देखिन्छ ।

उता निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ ‘सरकारबाट सिफारिस भई आएको अवस्थामा आयोगले निर्वाचन गराउने’ बताउँछन् । उनअनुसार, स्थानीय तह संचालन र संवैधानिक व्यवस्था अनुसार पदपूर्ति गर्ने हो । संवैधानिक व्यवस्था अनुसार उपनिर्वाचनको अवस्था छ भने सरकारबाट माग भई आएको अवस्था निर्वाचन आयोगले उपनिर्वाचनका लागि आह्वान गर्नेछ ।

प्रदेश-२ मा मात्रै स्थानीय तहका ९ जना जनप्रतिनिधिको पद रिक्त हुन गएको छ । पद रिक्त भएकामा रौतहट जिल्लाका मौलापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, कटहरिया नगरपालिकाका प्रमुख, देवाही गोनाही नगरपालिका, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख र यमुनामाई गाउँपालिकाका उपाध्यक्ष छन् । सिरहा जिल्ला लहान नगरपालिकाका नगरकार्यपालिका सदस्य, महोत्तरी जिल्ला सम्सी गाउँपालिकाका अध्यक्षको पनि पद रिक्त हुन गएको छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x