प्रमुख समाचार

जसपा विवाद

निर्वाचन आयोगले २२ असारमा बोलायो दुवै समूहलाई

इकागज |
असार १५, २०७८ मगलवार १८:१८ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)को विवादबारे मेलमिलापका लागि छलफल गर्न निर्वाचन आयोगले २२ असारमा दुवै समूहलाई बोलाएको छ । जसपाको संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह तथा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई आन्तरिक मेलमिलापका लागि २२ असारमा निर्वाचन आयोगमा बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 

‘हामीले आन्तरिक मेलमिलापका लागि जसपाका दुवै पक्षका पाँच/पाँच जनालाई २२ असारमा आयोगको कार्यालयमा बोलाएका छौं,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने । 


जसपाको यादव समूहले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । निवेदनपछि आयोगले ठाकुर समूहलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । आयोगले माग गरेको जवाफ ठाकुर समूहले ८ दिनमै दिएपछि कानुनी व्यवस्था अनुसार मेलमिलापका लागि आयोगमा बोलाइएको हो । 

थपलियाका अनुसार त्यसदिन दुवै समूहबीच मेलमिलाप भएन भने इजलास गठन गरेर न्यायिक निरुपण गर्ने तयारीमा आयोग छ । ‘त्यसदिन मेलमिलाप गर्छौ भने एक साताको समय दिएर मिल्न भन्छौं । नगर्ने भएमा हामीले एक साताकै समय दिएर इजलास गठन गरी दुवै समूहलाई कानुन व्यवसायी दिन भनेर विवादको निरुपण गछौं,’ प्रमुख आयुक्त थपलियाले भने । 

सत्ता समीकरणका विषयमा देखिएको विवाद जसपामा चरमोत्कर्षमा पुगेको छ । ठाकुर समूह सरकारको पक्षमा छ भने यादव समूह विपक्षी गठबन्धनको पक्षमा । दुवै समूहमा एउटाको निवर्तमान संसदीय दलमा, अर्कोको केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ । 
 


Author

थप समाचार
x