प्रमुख समाचार

ठगी मुद्दाको आरोपीलाई सेनाका रथीले छुटाएको आरोप

सुभाष कर्ण |
असार १७, २०७८ बिहीबार २०:१६ बजे

जनकपुरधाम : ठगी मुद्दाका आरोपीलाई सिरहाका चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले छुटाएको आरोप उनीमाथि लागेको छ । केसीले ठगी मुद्दाका आरोपित नातामा पर्ने आफ्ना सम्धी प्रेमकुमार मल्ललाई धनुषाका एसपी प्रकाश रानाभाट, सरकारी वकिल सीताराम अर्याललाई दबाब र प्रभावमा पारेर छुटाएको आरोप महोत्तरीको बनचौरी निवासी हाल काठमाडौँ बस्दै आएका राजकिशोर गुप्ताले आरोप लगाएका छन् ।

गुप्ता मल्लका व्यापारिक साझेदार हुन् । गुप्ताले पत्रकार सम्मेलन गरी मल्ललाई उन्मुक्ति दिलाउन सहायक रथी केसीले ‘सेटिङ मिलाउन’ गरेको कुराकानीको अडियोसमेत सार्वजनिक गरेका छन् । 


रकम चलखेल ठगी मुद्दा खेपिरहेका ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् । व्यापारिक साझेदार राजकिशोर गुप्तासँग ठगी मुद्दा खेपिरहेका मल्ललाई केसीले प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा स्वास्थ्य कारण देखाउँदै छुटाएको आरोप गुप्ताले लगाएका छन् ।

ठेकेदार मल्ल आइतबार सहायक रथी केसीको सम्पर्कमा आएका थिए । बुधबार प्रहरी कार्यालयबाट उन्मुक्ति पाएका मल्ल मंगलबार राति सहायक रथी केसीकै घरमा बसेका थिए ।

प्रहरी कार्यालयमा कागज मिलाउँदा भने मंगलबार राति मल्ललाई प्रहरी हिरासतमा राखिएको थियो  । तर कागजमा स्वास्थ्य कारण देखाउँदै प्रहरीले मल्ललाई छाडेको दाबी गुप्ताको छ । यता धनुषाका एसपी एसपी प्रकाश रानाभाटले भने, ‘स्वास्थ्यका कारण जमानीमा मल्ललाई छाडेका छौँ । यो विषयमा यसभन्दा धेरै बोल्न मिल्दैन ।’

फरार अभियुक्त मल्ललाई रथी केसीले आफ्नै गाडीमा जनकपुर ल्याएका थिए । जनकपुर आएपछि उनी सिँधै सरकारी वकिलको कार्यालय गए । तर त्यहाँबाट प्रहरी कार्यालय नगई सिँधै बर्दीवासतिर लगेको गुप्ताले दाबी गरे ।

तर एसपी रानाभाटले मल्ललाई प्रहरी कार्यालयमा हाजिर भएपछि मात्र सरकारी वकिलको कार्यालय पठाएको दाबी गरेका छन् । उनले भने, ‘थप कुरा बुझ्न डिएसपी मकेन्द्र मिश्रसँग कुरा गर्र्नू ।’ उता डीएसपी मिश्रले भने यो मुद्दामा आफूलाई केही थाहा नभएको जानकारी दिए ।

के हो विवाद ?

ठेकेदार मल्लले जनकपुरका गुप्तासँग मिलेर ठेक्कापट्टा गर्दै आएका थिए । तीन वर्षअघि गुप्ताले जनकपुरस्थित थापा चोकको २२ धूर जग्गा मल्लको नाममा पास गरिदिए । व्यवसायका लागि २ करोड लगानी गर्न मल्लको नाममा पास गरिएको उक्त जग्गा सम्झौताविपरीत बेचेको भन्दै मल्लमाथि गुप्ताले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए । 

‘फिर्ता गर्ने सर्तमा विश्वास गरेर मल्लको नाममा जग्गा पास गरिदिएका थियौं’, गुप्ताले भने, ‘तर मलाई जानकारी नदिएर जग्गा बेचिएछ । म घर न घाटको भएको छु ।’ उक्त जग्गाको मूल्य करिब १० करोड रूपैयाँ बराबरको भएको गुप्ताले बताए ।

झापाको दमक नगरपालिकामा एडिबीको करिव ७० करोडको काम दुवै जनाले मिलेर मल्ललाई ५५ र गुप्तालाई ४५ प्रतिशत दिने सहमतिमा गरेको तर पैसा नदिएपछि गुप्ताले प्रशासन र नगरपालिकालाई समेत गुहारेका छन् ।

त्यसपछि नगरपालिकाको पहलमा वडाध्यक्षको नेतृत्वमा गठित १७ सदस्सीय छानबिन समितिले समेत गुप्तालाई छ करोड रुपैयाँ दिनुपर्ने निर्णय गरेको कागजात भएको, तर हालसम्म नपाएको गुप्ताले बताए ।

उता सहायक रथी केसीले आफूहरुको सम्बन्ध केही वर्षदेखि मात्र रहेको र मानवताका हिसाबले आफूले कानुनी प्रक्रिया पुर्‍याइ हिरासत मुक्त गराएको बताए ।

उनले भने, ‘हाम्रो सम्बन्ध ३ वर्ष पहिलादेखिको हो । तर राजकिशोरजी र सम्धी मल्लजीको सम्बन्ध करिब ३५ वर्ष भन्दा लामो समयदेखि हो । त्यसैले पनि उहाँहरुबीचको विवादबारे सामान्य जानकारी भएपछि सहमतिमै विवाद सल्ट्याउन पहलकदमी लिएको हुँ ।’

उनले अघि थप्दै भने, ‘तर राजकिशोरजीले म नेपाली सेना भएकै कारणले ममाथि गम्भीर आरोप लगाई मेरो चरित्रसँग खेल्दै मेरो मानहानी गरेकामा म गम्भीर छु ।’

उनले आफूले नातामा परे पनि कानुनको दुरुपयोग नगरेको दाबी गर्दै आफूले कानुनी अनुसार नै बिरामी रहेका मल्ललाई हिरासतबाट रिहा गराए पनि उजुरी कानुनी प्रक्रिया अनुसार चलिरहने जानकारी दिए । उनले भने, ‘गलत काम भए कानुन बमोजिम कारबाही हुन्छ । यदि मैले गलत गरेको छु भने म कारवाही भोग्‍न तयार छु ।’


 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x