चावहिल-जोरपाटी-साँखु सडकमा ठेकेदारको बदमासी
धान रोप्ने खेत हो कि सडक ? ठेक्का तोड्ने सरकारको चेतावनी
काठमाडौँ : २०७५ असार १५ मा धान दिवसको अवसर पारेर बौद्ध-जोरपाटीका बासिन्दाले सडकमै धान रोपाइ र कविता महोत्सव गरेर विरोध प्रदर्शन गरेका थिए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडक निर्माण अलपत्र पारेको भन्दै उनीहरूले व्यंग्यात्मक रूपमा विरोध गरेका थिए । तर, प्रदर्शनी भएको तीन वर्ष पुगिसक्दा पनि यो सडकखण्डको अवस्था उस्तै छ । पानी परेर दह जसरी हिलो जमेको सडक निर्माण गर्न ठेक्का लगाएको ६ वर्ष भयो । निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई काठमाडौँ सडक विस्तार आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको छ ।
काम सम्पन्न गर्नका लागि यसअघि पटक-पटक मौखिक, टेलिफोन तथा पत्राचार मार्फत जानकारी गराउँदा समेत अटेरी गरेको आयोजनाले बताएको छ । ती ठेकेदारहरूले सम्पन्न गर्ने तर्फ प्रयास नगरेको उल्लेख छ । आयोजनाले भनेको छ, 'सम्पर्कमा समेत नआएकोले उक्त ठेक्काहरु किन नतोड्ने ?'
ठेक्काहरू तोड्नु नपर्ने भए सात दिनभित्र कार्य सम्पन्न गर्न सक्ने आधार सहित संशोधित कार्य तालिका एवम् ठेक्कासँग सम्बन्धित कार्य सम्पादन जमानत, बीमा तथा अग्रिम भुक्तानी जमानत लगायतका कागजातसहित उपस्थित हुन आह्वान गरेको छ ।
आयोजनाले कालोसूचीमा राख्न सिफारिस गरी पठाइने चेतावनी दिएको छ । सबै प्रकारका जमानत बापतको रकम जफत गर्ने समेत भनेको छ । २०७२ असोज १३ मा बज्रगुरु-छ्यांमिला-खानी जेभी र बज्रगुरु-बिरुवा-खानी जेभीसँग सम्झौता गरेको थियो ।
चावहिल-बौद्ध-साँखु १२ किलोमिटर लामो यो सडक समयमै काम सक्ने भन्दै उपत्यका सडक विस्तार आयोजनाले पाँच वटा प्याकेज बनाएर ठेक्का लगाएको थियो। तर, ६ वर्षसम्म काम हुन नसक्दा सडक विस्तारका नाममा अस्तव्यस्त बनेको छ।
दक्षिणढोकाबाट २.४ किलोमिटर सडक चौडा पार्ने ठेक्का बज्रगुरु च्याङमिला खानी जेभीले पाएको थियो । २०७२ असोजमा २०७४ माघमा सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । तर समयमा सम्पन्न गर्न नसकेपछि गत वर्ष पुस २९ सम्म म्याद थप गरिएको थियो ।
थलिबाट ३ किमी साँखुतिरको खण्ड निर्माणको जिम्मा बज्रगुरु/विरुवा खानी जेभीले पाएको थियो। २०७५ वैशाखमा पुरा गर्नुपर्ने भएपनि काम नसकिएपछि गत वर्ष पुस २५ सम्म म्याद बढाउँदै लगिएको थियो ।
स्थानीयले सडक विस्तारको विरुद्धमा हालेको मुद्दामाथि सर्वोच्चले ‘उचित मुआब्जा दिएर सडक विस्तार गर’भन्दै फैसला समेत गरिसकेको छ।
त्यस्तै नख्खुखोला-भैंसेपाटी-बुंगमती सडकका ठेकेदारलाई समेत चेतावनी दिएको छ । आशिष-बिरुवा-सिएम जेभीसँग २०७३ असार ३० मा ठेक्का सम्झौता भएको थियो । गत वर्ष जेठ २२ मा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले अटेरी गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया