प्रमुख समाचार

'त्रिविसँग यसको समाधान छ ?'

पूजा बस्‍नेत |
असार २२, २०७८ मंगलबार १८:३१ बजे

काठमाडौँ : सोमबार बिहानै रत्न राज्य क्याम्पसका प्राध्यापक दिपक गजुरेलले फेसबुकमा स्नातक पहिलो वर्षको विद्यार्थीले परीक्षा दिन सेन्टर खोज्नुपरेको पीडा फेसबुकमार्फत सार्वजनिक गरे । पीडासँगै उनको प्रश्न थियो, ‘त्रिभुवन विश्वविद्यालयसँग समाधान छ ?’ 

 


त्रिभुवन विश्वविद्यालयले झन्डै दुई वर्ष बढी समय लगाएर स्नातक पहिलो वर्षको परीक्षा गर्ने निर्णय गरेपछि देशभर छरिएर रहेका परीक्षार्थीहरूको फोन तथा म्यासेजहरू आउन थालेको उनी बताउँछन् । एक परीक्षार्थी लकडाउन हुनुपूर्व आफ्नो घर बर्दिया गइन् । उनले परीक्षा हुँदै छ भन्ने त्रिविको सूचना पाएपछि हतार–हतार अनलाइन फर्म भर्नेतिर लागिन्, तर त्रिविको वेबसाइट चलेन । फेरि अर्को आपत्, परीक्षा दिन नेपालगन्ज जानुपर्ने स्थिति बन्यो । 

अर्को एक स्याङ्जा घर भएकी सजनी क्षेत्रीको पनि समस्या उही । त्रिविले स्याङ्जाबाट परीक्षा दिनेहरूका लागि एउटा मात्रै (आदर्श क्याम्पस) परीक्षा सेन्टर तोकेको छ । तर उनको घर सेतीबेनीबाट सेन्टर पुग्न हिँडेर ८÷९ घण्टा लाग्छ । त्यसमाथि पहिरोले हिँड्ने बाटो समेत छैन । उनीसहित तीनजना परीक्षा दिने छन् । परीक्षा केन्द्र रहेकै ठाउँमा कोठा भाडामा लिएर बस्न सक्ने स्थिति पनि छैन । कोभिडको मार उत्तिकै छ । यसोमा आफूहरू के गर्ने अलमलमा परेको उनको गुनासो छ । 

यी त केवल प्रतिनिधि पात्र मात्रै हुन् । त्रिविले देशभर तोकेको सेन्टर अधिकांश सदरमुकाममै पर्छन् । कुनै जिल्लामा त सेन्टर एउटा मात्र छ । जहाँ पुग्न विकट ठाउँका परीक्षार्थीले लामै यात्रा तय गर्नुपर्ने हुन्छ । त्यसमाथि कति जिल्लामा लकडाउनका कारण लामो दुरीका सवारी साधन चलेका छैनन् । सेन्टर भएकै ठाउँमा कोठा लिएर बस्न पनि कोभिड महामारीमा सम्भव छैन ।

विश्वविद्यालयले नजिकको परीक्षा केन्द्र छान्न पाउने भनेर सुविधा दिएको भए पनि दुर्गम ठाउँमा बस्ने विद्यार्थीहरू परीक्षा दिन सदरमुकामसम्म जान नसक्ने प्राध्यापक गजुरेल बताउँछन् । उनी भन्छन्, ‘विकट भेगमा बस्ने विद्यार्थीहरू सात बजेको परीक्षा दिन घरबाट कतिखेर निस्कनु, एक दिनको मात्र परीक्षा होइन, पाँच दिनको हो ।’

उनी फेरि विद्यार्थीहरू केन्द्रमै कोठा लिएर बसे भने पनि कोभिड संक्रमण भएहाले त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने प्रश्न गर्छन् । उनले अनलाइन फर्म भर्न जारी गरेको सूचना समेत कैयौँ विद्यार्थीहरूले इन्टरनेटका कारण थाहा नपाएको बताए । विद्यार्थीको यस्ता समस्या थाहा हुँदा हुँदै पनि त्रिविले पुरानै शैलीमा साउनको १० देखि परीक्षा सञ्चालन गर्ने सूचना निकालेको छ । दुई वर्षपछि परीक्षा दिएर कक्षा चढ्न पाउँदा विद्यार्थीहरू खुसी हुनुपर्ने विद्यार्थी परीक्षा र कोभिडबीचको चेपुवामा परेका छन् ।

कयौँ निजी क्याम्पसले त अनलाइन कक्षा पढाए र कोर्स पनि सकाए । तर अधिकांश सरकारी क्याम्पसले अनलाइन कक्षा पढाएनन् । पढाए पनि सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सुविधा नभएका कारण पढ्न पाएनन् । त्यसो हुँदा स्नातक प्रथम वर्षको परीक्षा दिने विद्यार्थीमध्ये अधिकांशले पढाई पूरा गर्न पाएका छैनन् । त्रिविले परीक्षा केन्द्र छान्ने नीति ल्याउँदा झनै तनाव बढेको विद्यार्थीहरूको भनाई छ । 

समाधान के त ? 
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी भने यसमा विद्यार्थी आफैँले पनि पढाइका लागि केही दुःख गर्न पर्ने तर्क गर्छन् । ‘काठमाडौँ आउन गाह्रो हुन्छ भनेरै हामीले सदरमुकाममा परीक्षा केन्द्र राखेका हौँ,’ उनले भने,  ‘विद्यार्थी आफैँले पनि थोरै दुःख त गर्नै पर्‍यो नि !’ अघिल्लो वर्ष नजिकैका क्याम्पसमा परीक्षा केन्द्र राख्दा विकृति आएपछि यसपालि सदरमुकाममा केन्द्र राखेको उनको भनाइ छ । 

जोशीका अनुसार, परीक्षा दिन अन्तर (ग्याप) अनुरुप हुने भएकाले विद्यार्थी आरामले आउँजाउँ गर्न सक्ने छन् । त्यस्तै, त्रिविले कुनै पनि हालतमा स्नातक पहिलो वर्षको परीक्षा आन्तरिक मुल्याङ्कनबाट गर्न नसकिने उनले जनाएको छ । ‘विद्यार्थीहरूको खेर गएको दुई वर्ष यो परीक्षाले कभर गर्न सक्छन्’, जोशी भन्छन्, ‘पहिलो वर्षको परीक्षा गरेर लगत्तै त्रिविले दोस्रो वर्षको परीक्षा चैत वैशाखमा गर्छ ।’ उनले परीक्षा गर्नेबाहेक अन्य कुनै विकल्प नभएको बताए ।

यो पनि 

'न पूरै भौतिक कक्षा लिन पाइयो न अनलाइन, परीक्षा कसरी दिने ?'


Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
x