प्रमुख समाचार

'महिलाले पढ्न नहुने वेदका मन्त्र महिलाले रचेका छन्'

सुनीता साखकर्मी |
असार २२, २०७८ २०:४० बजे

काठमाडौँ : ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त छ । तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कयौँ मन्त्र महिलाले नै लेखेको त्रिभुवन विश्व विद्यालयका सामाजिक कार्य विभागका प्रमुख डा शुक्रराज अधिकारीले बताए । 

८१ औं योगमाया स्मृति दिवसको अवसरमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन शास्त्र विभाग र महिला अध्ययन केन्द्रद्वारा आयोजित ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डा. अधिकारीले वेदका मन्त्रद्रष्टाका रूपमा रहेका महिलाहरूको चर्चा गरे । 


‘वैदिक दर्शन र महिला’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’का रूपमा स्थापित भएको बताए । ‘आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो,’ उनले भने, ‘यही वेद अहिले महिलाले पढ्नुहुन्न भनिन्छ । तर वेदका ४२२ वटा मन्त्रका मन्त्रद्रष्टा नारीहरू तथा ‘ऋषिका’हरू थिए ।’
  
वेदमा ऋषिकाहरू सूर्या सावित्रीको ४७ वटा, घोषा काक्षीवतीको २० वटा, सिकता निवावरीको २८ वटा, इन्द्राणीको ११ वटा, यमी वैवस्वतीको ११ वटा, दक्षिणा प्राजापत्याको १० वटा, अदितिको ८ वटा, वाक् आम्भूणीको ७ वटा, अपाला आत्रेयीको ७ वटा मन्त्र छन् । साथै जुहू ब्रह्माजाया, अगस्त्यस्वसा, विश्ववारा आत्रेयी, उर्वशी, सुरमा देवशसुनी, शिखण्डिन्यौँ अप्सरसौँ र पौलोमी शचीका ६-६ वटा मन्त्र छन् भने देवजामयःका ५ वटा, श्रद्धा कामायनीका ५ वटा, नदीका ४ वटा, सार्पराज्ञीका ३ वटा मन्त्र छन् । त्यस्तै गोधा, शश्वती आङ्गिरसी, वसुक्रपत्नी, रोमशा ब्रह्मावादिनीका १-१ वटा मन्त्र छन् । 

‘चौबिस महिलाहरू ऋषिका तथा मन्त्र रचयिता बनेका, महिलाले पनि ब्रह्मचर्य पालन गर्नुपर्ने व्यवस्थाले महिलाहरू पनि ब्रह्मज्ञानी बनेका, ब्रह्मचर्यपछि मात्र गृहस्थ आश्रम प्रारम्भ हुने हुँदा बालविवाह नहुने, विवाहपछि घरको नेतृत्व लिने भएकोले गृहस्वामिनीको पद प्राप्त हुने, पहिलो लोग्नेको मृत्युपछि विधवाले पनि विवाह गर्न पाउने, यज्ञमा महिलाहरूको अनिवार्य सहभागिता रहने जस्ता सामाजिक व्यवस्था रहेको तथ्यहरू प्राप्त भएका छन्,’ डा. अधिकारीले भने, ‘तर यति हुँदा हुँदै पनि वैदिक समाज पितृसतात्मक थियो । त्यसैले वेदका ऋचाहरूले मातृ वंशको चर्चा गरेको देखिँदैन । आम रूपमा हेर्दा पुरुष वंशको स्थापना भएको छ । पैतृक सम्पतीमा पुरुषसरह महिलाको अधिकार स्थापित भएको छैन ।’ 

कार्यक्रममा भिक्षु कश्यपले ‘बौद्ध दर्शन र महिला’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचो मिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गरे । 

त्यस्तै प्राडा शशी अधिकारीले ‘धर्म, दर्शन र कानुनमा महिलाको अधिकार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैदिककालमा महिलाको स्थान समानता उन्मुख भएपनि आधुनि युगमा लैंगिक समानताका लागि महिलाहरू संघर्षरत रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘संविधान र कानुनले गरेको व्यवस्थाको कार्यान्वयका लागि पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म कार्यान्वयन हुन सक्दैन । असमानतालाई हटाउँदै समानता लागू गर्न लैंगिक विभेदकारी सोचमा नै परिवर्तन आउनुपर्ने र सो परिवर्तन नभएसम्म महिलाले पूर्ण अधिकार पाउन कठिन छ ।’  

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीका अनुसार वेद महिलाहरूलाई पढ्न नदिने भन्ने कुरा वेदको व्यवस्थापन होइन । ‘कालखण्डमा स्वार्थवस, अन्जानवस व्याख्या गर्दा केही दर्शन आधारभूत कुराहरू विकृत भएर जान्छन्,’ उनले भने, ‘त्यसैले यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यताहरू के छन्, कुन पृष्ठभूमिमा ति संरक्षित भए र तिनीहरुको सन्देश के हो भनेर बुझ्‍ने प्रयास गर्छौँ । साथै त्यसको सांकेतिक महत्वलाई बुझेर मनन गर्न सकियो भने ति हरेक युगको जीवनलाई निर्देशित गर्ने प्रकारका छन् ।’ 

त्यस्तै डा. अधिकारीको कार्यपत्रमा टिप्पणी गर्दे साहित्यकार विष्णु प्रभातले महिलाहरूको पस्थानमा केही पुरानो बैदिक, उत्तर वैदिक वा ऋग्वेदको कुरा जोड्दा तीन चारवटा प्रथा जोड्नपर्ने उनले सुनाए । 

‘आफुबाट सन्तान नभए अरुबाट ‘ऋतुदान’(सन्तान जन्माउन गरिने सम्भोग) लिएर भएपनि सन्तान जन्माउने यौन प्रथा थियो । सामुहिक रुपमा मन परेको युवकसँग रमाउने, विधवा विवाहको प्रचलन थियो,’ उनले भने । साथै मातृत्व प्रधानताको समाजलाई मातृसत्ता र पुरुष प्रधानताको समाजलाई पितृसत्ता भनिएको छ । यी शव्दहरूको प्रयोग ठिक ढंगबाट नभएको उनको तर्क थियो । उनले भने, ‘पितृहरूलाई आदर गर्नु संस्कृतिको कुरा हो । पितृसत्ता भनेर पुरुष प्रधान भएको समाजलाई भन्नु त्यो मिल्दो छैन ।’ 


 


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
ad
x