प्रमुख समाचार

भैरहवामा प्लाई हाउसमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा

इकागज |
असार २७, २०७८ आइतबार ८:३४ बजे

बुटवल : रुपन्देहीको भैरहवामा रहेको सुन्दर फ्रेम तथा प्लाई हाउसमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा आएको छ । सिद्धार्थनगर नगरपालिका-८ नारायण पथस्थित पसलमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभरको प्रयासपछि  आइतबार बिहान ५ बजे नियन्त्रणमा आएको रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । 
 
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकलको प्रयोग भएको थियो । सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहभागिता रहेको थियो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरू परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका दमकलले आगो निभाएका थिए । 

आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा उनीहरूको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइलसहित करिब ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।



Author

थप समाचार
x