प्रमुख समाचार

मध्यरातमा लुम्बिनीको बजेट अधिवेशन अन्त्य

अब अध्यादेशबाट बजेट ल्याउने तयारी

इकागज |
साउन १, २०७८ शुक्रवार ७:३६ बजे

फाइल तस्बिर

बुटवल : बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्‌को सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्‍जीवी पौडेलले जानकारी दिए ।

बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद्‌ बैठक छाडेर हिँडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्‍न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्‍ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।


प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक-पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना नै सांसद छन् ।


Author

थप समाचार
x