कोभिडविरुद्धको दुवै डोज लगाएकाले थप खोप लगाउनुपर्छ ? यस्तो छ डाक्टरको तर्क
काठमाडौँ- कोभिडविरुद्धको दुवै डोज खोप लगाएकाले अन्य खोप लगाउनु आवश्यक नभएको बताइएको छ । काेभिडविरुद्धको खाेप लगाएका नागरिकलाई वैकल्पिक खोप हल्लाको आधारमा नलगाउन स्वास्थ्य विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आग्रह पनि गरेको छ ।
महामारी बढेमा यही खोपको थप बुस्टर लगाउन पर्ने हुनसक्छ तर अन्य खोप (फ्लु सट, निमोनिया लगायत) लगाउन आवश्यक नरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताएका छन् । 'दुवै खोपको मात्रा पूरा गरेकाले अन्य कम्पनीको खोप लगाउनुपर्दैन,' उनले भने । दुवै खोप लगाएको समयावधि कति समय हुने भनेर अहिलेसम्म अध्ययनको विषयमा रहेको उनको भनाइ छ ।
महामारी पुनः बढ्दै गएमा दुवै डोज लगाएकाले बुस्टरमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उनले इकागजसँग भने,'दुवै डोज खोप लगाएकाले कोभिडको नयाँ भेरियन्ट देखिएमा मात्र बुस्टर लगाउन सकिने छ । खोप निर्माता कम्पनीले अहिले देखिएको भेरियन्टलाई काम गर्न बुस्टर बनाउन सक्ने उनको भनाइ छ ।'
तेस्रो भेरियन्टको सम्भावना भएकाले अहिले लगाइरहेको खोपले काम नगर्न सक्ने भएकाले प्रयोग गरिएको खोपलाई विकास गर्न सकिने पोखरेलले थप प्रस्ट पारे । भाइरसको भेरियन्ट र म्युटेसनको अवस्थालाई हेरेर अध्ययन गरिरहेको उनले बताए ।
खोपले गर्ने सुरक्षालाई लिएर पुनः तेस्रो खोप लगाउने वा हेरेर अन्य खोप लगाउन सक्ने अध्ययनले पुष्टि गर्ने डा. पोखरेलको भनाइ छ । नयाँ लगाउनुपर्ने पनि हुन सक्छ वा अन्य सबै सम्भावना रहेको उनले सुनाए ।
नयाँ भेरियन्टका लागि खोप नबन्न पनि सक्ने पोखरेलको तर्क छ । 'नयाँ देखिएको भेरियन्टलाई कुनै पनि खोपले काम नगर्न पनि सक्छ,' उनले भने,' खोप बनाउन नसकिने गम्भीर अवस्था आउन पनि सक्छ । विभिन्न विकल्पहरू हुन सक्छन बुस्टर बनाउने वा नयाँ खोपैको आवश्यकता हुन सक्छ ।'
फ्लुसर्ट जस्तै प्रत्येक वर्ष खोप लगाउन सक्ने अवस्था आउन सक्ने पोखरेलको अनुमान छ । भाइरसको मोर्टालिटी र सीबीआइटीलाई अध्ययन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । रुघाखोकी र ज्वरो मात्रै आए ठूलो समस्या नआउने उनले बताए ।
संक्रमणदर बढ्ने र यसको असर व्यापक हुन थाल्यो भने खोप लगाउन नियमित कार्यक्रम राख्नुपर्ने पोखरेलले बताए । मृत्युदर, सामाजिक जीवन, राष्ट्र तथा मानिसको आर्थिक अवस्थामा अधिक असर हुन थाल्यो भने प्रत्येक वर्ष खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने उनले प्रस्ट पारे ।
केही समय अघि अमेरिकी खोप निर्माता कम्पनी फाइजर इन्कले आफूले बनाएको कोभिड भाइरसविरूद्धको खोप लगाएकाहरूले बुस्टर डोज पनि लगाउनुपर्ने बताएको थियो । बुस्टर डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूलाई पनि ६ महिनापछि संक्रमण दर बढ्ने समेत कम्पनीले बताएको हो ।
विश्वभर कोभिडविरुद्धको दुवै डोज लगाएकाले अन्य खोप लगाउनुपर्ने वा नपर्ने विषया अध्ययन भइरहेको छ । अहिलेसम्म अनिवार्य पहिलो र दोस्रो दुवै खोप लगाइसकेकाले अनिवार्य तेस्रो डोज लगाउनुपर्ने अवस्था नआइसकेको बताउँदै आएका छन् ।
नेपालमा भने हालसम्म दुई खोप लगाउन थालिएको छ । भारतमा उत्पादित कोभिसिल्ड र चीनको भेरोसेल तथा अमेरिकी जोनसन एण्ड जोसननको खोप साउन ४ गतेबाट लगाउनलाई सरकारले मितिसमेत सार्वजनिक गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया