प्रमुख समाचार

'सरकारले थप खोपको पहल थालिसक्यो'

इकागज |
साउन ४, २०७८ सोमबार २१:१७ बजे

काठमाडौँ - सरकारले खोप उपलब्ध गराउने सबै मित्र राष्ट्र र कम्पनीलाई धन्यावाद दिँदै थप खोपको पहल अघि बढाएको छ । कूटनीतिक पहलकदमीमा सक्रियहरुलाई पनि सरकारले स्मरण गर्दै खोप उपलब्ध गराउने मुलुक प्रति आभार व्यक्त गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि नेपाली नागरिकलाई अहिले खोप चाहिएको छ त्यसले सरकारको ध्यान खोप-खोप-खोप भनेका थिए । त्यही अनुरुप नै मन्त्रिपरिषद्ले खोप ल्याउने विषयमा पहल गर्नेक्रममा यो निर्णय लिएको एक मन्त्रीले बताए । 


नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मुलुकलाई लिखित धन्यवाद पठाउने सरकारको निर्णय छ । सरकारले सबै मुलुकसँग कूटनीतिक पहलकदमीबाटै खोप ल्याउने र त्यसका लागि नियोगहरू सक्रिय रहनु पर्ने निर्णय सरकारले गरेको छ । नियोगहरूले तत्काल खोप उपलब्ध गराउन पहल गर्नुपर्ने राजदूतले त्यसको रिपोर्टिङ पठाउन पर्नेलगायतका विषयमा छलफल भएको छ । 

परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्रीले मुख्य सचिवमार्फत तत्काल राजदूतहरूसँग खोपको विषयमा जानकारी लिन निर्देशन दिएका छन् । साथै अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गरेको जानकारी सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताइसकेका छन् ।  

नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाउने काम भएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज भारतबाट खरिद गरिएको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने थप १६ लाख उपलब्ध गराउने बताएको छ । त्यसबाहेक चीनसँग नेपालले ४० लाख भेरोसेल खरिद गरेको छ । त्यसको पहिलो खेप आइसकेको छ । त्यस्तै भारतसँग पनि १० लाख खोप खरिद गरेको भए पनि उसले उपलब्ध गराउन सकेको छैन् । त्यसमा पनि सरकारले चासो देखाएको छ । 


Author

थप समाचार
x