प्रमुख समाचार

फोन ट्यापिङले कूटनीतिक संयन्त्रमा त्रास

भारतका लागि नेपाली राजदूत निलाम्बरको फोन पनि ट्यापिङमा

इकागज |
साउन ५, २०७८ मगलवार १६:१६ बजे

काठमाडौँ - छिमेकी भारत सरकारले आफ्ना मुलुकमा रहेका कूटनीतिक अधिकारीको जासुसी गरेको गम्भीर आरोप अन्तराष्ट्रिय सञ्‍चार माध्यमले लगाएको छ । भारत सरकारले विदेशी कूटनीतिकर्मीको जासुसी गरिरहेको फ्रान्सेली पत्रिका ल मोंदले लेखेको छ । त्यसलाई नै हवाला दिएर भारतीय सञ्चार माध्यमले पनि लेखेको छ ।

आफ्नै छिमेकी मुलुक नेपालका राजदूत निलाम्बर आचार्यमाथि पनि भारत सरकारले गुप्तरचरी गरेको त्यहाँ खुलासा गरेको छ । भारतले अमेरिका, चीन र पाकिस्तानका राजदूतमाथि पक्कै निगरानी राख्छ होला ?  तर नेपाली राजदूतमाथि यतिधेरै निगरानी हुँदैन थियो ।


प्रायः नेपालमाथि भएको यो निगरानीबारे राजदूत आचार्य अनविज्ञ छन् । आफ्नो निगरानी कसले गरेको छ कसरी थाहा पाउने भन्दै उनले अनविज्ञता व्यक्त गरेका हुन् ।  नेपाल जस्तो मित्रराष्ट्रका राजदूतमाथि जासुसी गर्नुले मोदी सरकारको आलोचना भएको छ ।

यस विषयलाई नेपाल सरकारले पनि गम्भीरतापूर्वक लिने जनाइएको छ । हुनत् मोदी सरकारले विपक्षी दलका नेताहरू राहुल गान्धी, प्रशान्त किशोर, निर्वाचन आयुक्त अशोक लवासा, गगनदीप काङ, अभिषेक बनर्जीलगायतको जासुसी गरेको खुलासा भइरहेको अवस्थामा कूटनीतिक समुदायमाथि पनि यस्तो गरेको आरोप आइलागेको हो । 

प्रतिष्ठित र राज्य संयन्त्र निकट रहेका शक्तिशाली व्यक्तिमाथि उजुरी दिनेहरूको पनि फाेन ट्यापीङ भइरहेको आरोप भारत सरकालाई लागेको हो ।  यतिबेला सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा मन्त्री नै सरकारको जासुसीमा परेको भारतका दिग्गज पत्रकारहरूले नै जनाइरहेका छन् । 

फोन ट्यापीङका कारण भारतमा नेताहरू मोबाइल फोन स्वीच अफ गरेर मात्र भेटघाट गर्छन् । कतिपय नेताहरू फोन स्वीचअफ मात्र गर्दैनन् त्यो स्वीच अफ गरेका फोनलाई छुट्टै कोठामा थन्काउने समेत गरेका छन् ।

अहिले पेगाससको खुलासाले पनि त्यो ट्यापीलाई पुष्टि गरेको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन् । हुनत्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सर्वसाधारणमाथि जासुसी गर्ने गरेको आरोप यसअघि देखि नै लाग्दै आएको छ ।

सन् २०१३ मा पनि यस्तै प्रकारको खुलासा गुजरातमा भएको थियो । त्यतीबेला गुजरात राज्यको गृहमन्त्री अमित शाह नै थिए भने मुख्य मन्त्री मोदी । भारत सरकारले यस्ता कार्य नगरेको र यो अर्नगल हल्ला भन्दै सबै नागरिकको निजताको अधिकार सुरक्षित राख्‍न आफूहरु प्रतिबद्ध रहेको जनाएको छ ।

त्यही प्रतिबद्धतालाई पालना गर्न सरकारले पर्सनल डेटा प्रोटेक्सन बिल २०१९ पनि ल्याएको मोदी सरकारले बताएका छन् । विश्वका कैयन मुलुकमा आफ्नै जनतामाथि निगरानी राख्‍ने र फोन ट्यापिङ हुने गरेको छ । नेपाल भित्र पनि यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले यस्तै ट्यापिङ गरेको भन्दै नेताहरू एप मार्फतमात्र कुराकानी गर्थे । 

इजरायलको गोप्य सर्भेलान्स कम्पनी एनएसओलेको ह्याकिङ सफ्टवेयरमार्फत विभिन्‍न मुलुकका सरकारहरूले आफ्नो देशमा रहेका उच्च तहका अधिकारी, राजनीतिकर्मी, पत्रकार, कानुनव्यवसायी, मानवअधिकारकर्मी, विदेशी कूटनीतिज्ञलगायतको जासुसी गरेको खुलेकाे छ ।  

एनएसओको ह्याकिङ सफ्टवेयर पेगाससको दुरुपयोग सरकारहरूले गरेको खुलासा विभिन्‍न सञ्‍चारमाध्यमले गरेका छन् । विभिन्‍न दश मुलुकका १७ मिडिया संस्थामा आबद्ध ८० भन्दा बढी सञ्‍चारकर्मीहरूको सहकार्यमा यस्तो खुलासा भएको हो । 

पेगासस नामक सफ्टवेयरले आईफोन र एन्ड्रोइड डिभाइस दुवैलाई ह्याक गरी फोनमा रहेका एसएमएस, तस्बिर, इमेलसमेत हेर्न सक्ने हुनाले यसमा सबै चनाखो बनेका हुन् । यो सफ्टवयरले यतिसम्म गर्छ कि फोनमा रहेको माइक्रोफोनलाई स्वत एक्टिभेट गरिदिन्छ जसले गर्दा स्विच अन भएका फोन नजिकै रहँदा व्यक्तिले बोलेको सबै कुरा अन्य कुनै कुनामा रहेकाले रेकर्ड गर्नसक्छ ।  उक्त इजरायली स्पाईवेयर अपराधी तथा आतंकवादीहरूका विरुद्ध मात्र प्रयोग गर्न एनएसओले सरकारलाई मात्र उपलब्ध गराउने गरेको छ । 


Author

थप समाचार
x