प्रमुख समाचार

कमला नदीले तटबन्ध कटान गर्दा चार पालिका जोखिममा

सुवास कर्ण |
साउन ५, २०७८ मगलवार २०:५४ बजे

जनकपुरधाम- गत केही दिनदेखि भएको वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषा सबैला नगरपालिका-१३ स्थित किरतपुर र ढोलबाजाबीचमा रहेको तटबन्ध कटान गर्न थालेको छ । सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सतह भन्दा माथि पुग्दै काटन गर्न थालेको हो । 

किरतपुरमा कमला नदिले तटबन्धको करिब ६ सय मिटर भाग कटान गरेपछि त्यसको नियन्त्रणका लागि स्थानीयवासीको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरी बिहानैदेखि नियन्त्रणको प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 


नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहका अनुसार कटान क्षेत्रमा बिहानैदेखि बोरामा बालुवा, माटो राखेर, नाइलनको डोरी, बाँस, रुखहरूको प्रयोग गरेर नियन्त्रणको प्रयास भइरहेको छ । तटबन्ध कटान र वर्षा नरोकिएपछि जिल्लाको सबैला नगरपालिकाको किरतपुर र ढोलबजा गाउँ सखाप पार्नुका साथै सबैलासहित चारवटा पालिका उच्च जोखिममा परेका छन् । जोखिमको दृष्टिगत गर्दै आसपासका क्षेत्रमा हाई अलर्ट जारी गरिएको प्रजिअ बस्तोलाले बताए ।

तटबन्ढीध कटानले बाढीको पानी प्रवेश गरेपछि सबैला नगरपालिका,  कमला नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दनी गाउंपालिकाका दर्जनो गाउँ डुबानमा पर्ने सम्भावना छ । सभापति सिंहले तटबन्ध कुनै पनि बेला पूरै कटान गर्न सक्ने भएकाले किरतपुर र ढोलबजासहितका गाउँबासीलाई रातिमा सर्तक भएर बस्‍न आग्रह गरेको बताए । 

कटान भएको ठाउँमा नदी निक्कै गहिरो भएका कारणले नियन्त्रणमा कठिनाइ भइरहेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईले बताए । आज राति वर्षा भएको खण्डमा कमला नदिको पानी बस्तीमा प्रवेश गरेर अरबौँको क्षति हुने अवस्था रहेकाले गृह मन्त्रालयले तत्काल नदी नियन्त्रणका आपतकालिन रूपमा ५० लाख रकम निकासा गर्न लागिएको प्रमुख जिल्ला अधिकारीले बास्तोलाले जानकारी दिए ।


 


Author

थप समाचार
x