प्रमुख समाचार

स्थानीय र प्रहरीबीच झडप : १३ प्रहरी घाइते

इकागज |
साउन ६, २०७८ बुधबार ६:३१ बजे

धनगढी- धनगढी उपमहानगरपालिका-३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा मंगलबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् ।

वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । त्यस क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकारीले बताए ।


जमेको पानी निकास नहुँदा वडा नं ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो ।

प्रहरी उपरीक्षक अधिकारीले भने, 'अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।' केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ । 


Author

थप समाचार
x