प्रमुख समाचार

नेम्वाङ-अल्मुताइरी विवाद सल्टाउन एन्फा असफल

साफ च्याम्पियनसिप आयोजनाका लागि सरकारको पाँच करोड

इकागज |
साउन १६, २०७८ शनिवार १०:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी साफ च्याम्पियनसिप आयोजना गर्न कुल १० करोड लाग्‍ने बताएको छ । त्यसमध्ये पाँच करोड उसले सरकारबाट प्राप्त गर्नेछ । एन्फाको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यस्‍ताे जानकारी दिएको हो ।

बंगलादेशले दक्षिण एसियाकै सर्वोच्च फुटबल प्रतियोगिता आयोजना गर्न नसक्ने जनाउ दिएपछि नेपालले याे जिम्मेवारी पाएको हो । अक्टोबरमा हुने प्रतियोगिता आयोजनाका लागि विस्तृत प्रस्ताव एन्फाले साफमा पठाउँनेछ । साफ तयारी स्वरुप नै नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने अवसरको खोजी गरिरहेको पनि बताइएको छ । त्यसका लागि एन्फाले बंगलादेश, भारत र सिंगापुरका राष्ट्रिय टोलीहरूलाई पत्राचार गरेको छ । 


नेपालको राष्ट्रिय महिला टोली पनि अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त हुने तालिका छ । आगामी जनवरीमा भारतमा २०२२ एएफसी वुमन्स एसियन कप हुँदैछ । एसियन कप छनौटको समूह ‘एफ’मा छ, नेपाल । यही समूहमा फिलिपिन्स र हङकङ पनि छन् । समूहका सबै खेल नेपालमै हुनेछन् । घरेलु भूमिमा हुने छनौट खेलहरुमा भाग लिनुभन्दा अगाडि नेपालले मैत्रीपूर्ण खेल खेल्न चाहेको छ । त्यसका लागि इरान एउटा विकल्प हो । तर इरान बाहेक अन्य विदेशी टिमसँग पनि पत्रचार भइरहेको एन्फाको भनाई छ । 

यी त भए सकारात्मक खबर । अब एन्फाले सल्टाउन नसकेको विवादतर्फ जाउँ । गत आइतबार सतहमा आएको एन्फाका उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्बुदुल्लाह अल्मुताइरीबीचको विवाद समाधान भएको छैन । अल्मुताइरीले नेम्वाङमथि आरोप लगाउँदै फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए । कुवेती नागरिक अल्मुताइरीको आरोप थियो, एन्फा उपाध्यक्षले समस्या खडा गरे । 

उता नेम्वाङले आफूमाथि षड्यन्त्र भएको भन्दै अल्मुताइरीको आरोपमाथि छानबिन गरिनुपर्ने माग राखेका थिए । अनि मुख्य प्रशिक्षक आफैँले पनि छानबिनका लागि निवेदन दिए । यही विषय शुक्रबार बसेको एन्फा बैठकको मुख्य एजेन्डा बन्यो । तर निर्क्योल निस्केन । बरु एन्फाले छानबिनका लागि युवा तथा खेलकुल मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गर्‍यो ।


Author

थप समाचार
x