प्रमुख समाचार

संसदीय समितिले भन्याे : गुप्‍तचरसँग अपारदर्शी वार्ता नगर्नू

चीन र भारतबाट भएका उच्चस्तरीय भ्रमण उपलब्धिमूलक : मन्त्री ज्ञावाली

इकागज |
मंसिर १९, २०७७ शुक्रबार १६:५१ बजे

काठमाडौं : संसदको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपाल-भारतबीच अब हुने मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारत सरकारलाई ग्रहण गर्ने वातावरण मिलाउन कूटनीतिक पहल गर्न निर्देशन दिएको छ ।

समितिले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आमन्त्रण गरेको थियो । नेपाल-भारतबीच गठित प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन नेपाल सरकारले ग्रहण गरिसकेको छ । तर, भारतले लामो समयदेखि बुने या नबुझ्‍ने केही उल्लेख नगरीकन थन्काउँदै आएको छ ।


त्यसअतिरिक्त समितिले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भू-भागमा भइरहेको अतिक्रमण रोकी ती क्षेत्रमा नेपालको हकभोग कायम गर्ने’ वातावरण मिलाउन पनि निर्देशन दिएको छ । मन्त्री ज्ञवालीले भ्रमणमा दुई मुलुकबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरेको जानकारी दिए । ‘नेपाल-भारत संयुक्त समितिको बैठक चाँडै हुन्छ र दुवै देशबीचका थाती विषयमा बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिनेछ’ उनले भने । 

दुई देशका सीमा क्षेत्रमा भारतद्वारा निर्मित बाँध लगायतका भौतिक संरचनाहररूले नेपालमा गर्ने डुबान र कटान अन्त्य गर्न पहल गर्ने सम्बन्धमा असअघि दिएका निर्देशन पनि समितिले ‘कार्यान्वयन गर्नु’ भनेको छ ।

समितिको बैठकमा मन्त्रीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमणबारे जानकारी गराएका थिए । उनले दुवैतिरको भ्रमण ‘उपलब्धिमूलक’ भएको टिप्पणी गरेका थिए । उनले दुबै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न  महत्वपूर्ण रहेको जानकारी दिए ।

नेपालले लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध चिसिएको थियो । त्यसमा कोभिड-१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच द्विपक्षीय भ्रमण रोकिएको थियो । भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण शुरुआत भएको छ । मन्त्री ज्ञवालीले चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको बताए ।

उनले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि उक्त भ्रमण फलदायी भएको बताए । समितिको बैठकमा सत्तारुढ नेकपा सदस्य भीम रावलले पदीय मर्यादाविपरित प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको गुप्चतर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेका आपत्ति जनाएका थिए । रावलले भने, ‘यसरी गुप्तचरहरुसँग अपारदर्शी वार्ता गरिनुहुन्न । यो बन्द गरिनुपर्छ ।’

भारतले गुप्तचर संस्थामार्फत नेपालमा सुक्ष्म व्यवस्थापन गरेको र जनस्तरबाट विरोध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि दोहोरिन नदिने नीति लिन सरकारलाई आग्रह गरेका थिए । कांग्रेस सदस्य प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । मन्त्री ज्ञवालीले कोराना भ्याक्सिन ल्याउने तयारी भइरहेको पनि जानकारी दिए । उनका अनुसार, भ्याक्सिन खोप ल्याउन विदेशी मुलुकहरुसँग पत्राचार भइरहेको र २० प्रतिशत कोराना सहुलियतमा दरमा ल्याइने तयारी छ ।  


Author

थप समाचार
x