प्रमुख समाचार

चालक अनुमति पत्रविना सिकारुले सवारी चलाउँदा दुर्घटना बढ्यो

इकागज |
साउन १७, २०७८ आइतबार ८:२ बजे

छिन्चु- जाजरकोट सडकखण्ड : फाइल तिस्बिर

जाजरकोट -  कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ । भर्खरै ट्रयाक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो । दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा दुर्घटना बढेको पाइएको छ ।

ट्राफिक प्रहरीको नजर नपुग्ने ठाउँमा धेरै यात्रु राखेर तोकिएको दरभन्द बढी रकम असुल्दै सिकारु चालकको बदमासी गाउँतिर सरेको हो । गाउँका सर्वसाधारणलाई चालकसँग चालक अनुमतिपत्र भए/नभएकोबारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ । नियमित मर्मतसम्भार नगरेको, बत्ती नभएका, गियर नलाग्ने यातायातका साधन धकेलेर सञ्चालन गर्दै यात्रु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो ।


असारको पहिलो साता मोटरसाइकल दुर्घटना हुँदा बारेकोट गाउँपालिका-५ की कृष्णकुमारी शाहीको मृत्यु भयो । उनलाई मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते छन् तर उनीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।

त्यसको साता दिनअघि बारेकोट गाउँपालिका-८ लैखममा जिप दुर्घटना भयो । सो जिप चालकको समेत सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ । त्यहाँ एक जनाको मृत्यु भयो भने चार घाइते भए । तीन हप्ताअघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भयो । उनको पनि सवारीचालक अनुमतिपत्र नभएको पाइएको थियो ।

गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारी चलाउने चालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ । चालक अनुमतिपत्र नभएका चालकले यातायातका साधन सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले जानकारी दिए । 

भेरी करिडोरको जाजरकोट बीच विन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै धेरै सवारी साधन चल्ने गर्दछन् । विगत १० वर्षको तथ्याङ्क हेर्दा जाजरकोटमा दुई ठूला दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लामा जाजरकोट भएर सवारी साधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा निगरानी कम हुँदा समस्या हुँदै आएको छ ।

नियम नमानेर जथाभावी सवारी साधन चलाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व सङ्कलन गरेको छ । कार्यालयले मादक पदार्थ सेवन गरी चलाएको, सवारी चालक अनुमतिपत्र नभएको, जथाभावी सवारी पार्किङ गरेको, तोकिएभन्दा बढी भाडा लिएको आधारमा कारवाही गरी राजश्व उठाइएको बताएको छ । 

गत आव २०७६/७७ मा रु १८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७/७८ मा रु ४० लाख ४० हजार राजश्व सङ्कलन गरेको थियो । गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको कार्यालयले जनाएको छ । (रासस)


Author

थप समाचार
x