प्रमुख समाचार

नेपाली क्रिकेटमा पारसको दोस्रो अध्याय

इकागज |
साउन २०, २०७८ बुधबार १८:२८ बजे

काठमाडौँ : नेपाली क्रिकेटमा आफ्नो पहिलो अध्याय सिध्याएका पारस खड्काले अब दोस्रो अध्याय सुरु गर्ने भएका छन् । मंलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्नयास लिएका पारसका लागि अब क्रिकेट व्यवस्थापन दोस्रो अध्याय हुनेछ । 

‘खेलाडीका रुपमा मैले नेपाली क्रिकेटमा आफूले सकेको छाप छाडे जस्तो लाग्छ । अब फरक भूमिकामा देखिनेछु । त्यसमा पनि सक्दो योगदान गर्नेछु’ आफ्नो सन्नयासबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मलेनमा पारसको सुरुवाती प्रतिक्रिया थियो । 


३३ वर्षीय पारसले नेपालका लागि पहिलो पटक सन् २००२ मा खेलेका थिए । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको सो प्रतियोतिा यू–१५ स्तरको थियो । सिनियर टिममा भने उनले त्यसको चार वर्षपछि खेल्ने मौका पाए । अन्तर महादेशीय प्रतियोगिताबाट सुरु उनको र्राष्ट्रिय टिमको करियरले निरन्तर उचाइ लिँदै गयो । नतिजास्वरुप उनी सन् २००६ मा उप–कप्तान बने । 

अनि तीन वर्षपछि पारस कप्तान बने । जुन भूमिकामा उनी सन् २०१९ सम्म रहे । कप्तानी छाडेकै वर्ष सन्नयास लिने सोचेको पारसको भनाइ थियो । ‘तर टिमलाई नैतिक समर्थनको आवश्यकता पर्छ भनेर त्यसबखत सन्नयास लिईनँ । अब भने टिम बलियो बनिसकेको छ । प्रतिभावान युवा खेलाडीहरू टिममा आइरहेका छन् । अब उनीहरूको वृत्ति विकासमा ध्यान दिइनुपर्छ,’ पारसको भनाइ थियो ।  

फरक भूमिकामा देखिन चाहेको बताइरहेका पारसले केही महिनाभित्रै एकडेमी सञ्चालनमा ल्याउने पनि जानकारी दिए । त्यसपछि क्रिकेट व्यावस्थापनमा आउने दिर्घकालिन लक्ष्य त छँदैछ । ‘करिब १० वर्ष कप्तान रहे । त्यस दौरान कप्तानको भूमिका बुझ्ने मौका पाएँ । कप्तानका रुपमा टिममा कति इम्प्याक्ट पार्न सकिन्छ भन्ने बुझियो । त्यसकारण व्यावस्थापनमा रहेर झनै महत्वपूर्ण इम्प्याक्ट पार्न सकिन्छ जस्तो लाग्यो,’ पारसले भने । 

यद्यपि पारसका लागि क्यानको कुनै भूमिकमा पुग्न सजिलो भने छैन । जुन पारस आफैँले पनि बुझेका छन् । ‘निर्वाचन प्रक्रियाबाट आउनु पर्छ । जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म आइपुग्न सजिलो छैन,’ पारसले थपे । यद्यपि पारस भविष्य प्रति उत्साहित भने छन् । आफू चुनौती सामना गर्न सधैँ तयार रहने बताउँदै पारसले भने, ‘खेलाडीका रुपमा मैदानमा चुनौती सामना गर्न उत्साहित नै भइन्थ्यो । अबका दिनमा मैदान बाहिर आउने चुनौती सामना गर्न पनि तयार छु ।’ 

आफूले राष्ट्रिय टिमबाट सन्नयास लिए पनि आफ्नै जीवनकालमा नेपालले टेस्ट खेलेको हेर्ने चाहना रहेको बताए । ‘नेपालले सन् १९९६ ताका नै आईसीसीको सदस्यता पायो । ओडीआई स्टाटस सन् २००५ तिरै पाएको भए मेरै पालामा टेस्ट खेलिन्थ्यो । अब चाहना भनेको आफ्नो जीवनकालमा नेपालले त्यो सफलता हासिल गरोस् भन्ने हो । यो लक्ष्यमा सफल हुन सकिन्छ । हामी सबैले आ–आफ्नो स्थानबाट योगदान गर्ने हो भने गाह्रो छैन’ पारसले भने । 


Author

थप समाचार
x