प्रमुख समाचार

कांग्रेसले तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने

इकागज |
साउन २०, २०७८ बुधबार १९:३५ बजे

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीमा क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने भएको छ । शीर्ष नेताहरूको बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको हो । 

शीर्ष नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंला तथा नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखकबीच आज छलफल भएको थियो । छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टी देखिएको विवाद ३ दिन भित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो । 


बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल सुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नेता लेखकले जानकारी दिए ।  

'अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको छ,' लेखकले भने, 'यसले निरन्तरता पाउँछ र २/३ दिन भित्र टुंगिन्छ ।'

बैठकमा नेताहरूबीच आसन्न पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको छ । महाधिवेशनको कार्यतालिका अहिलेनै प्रभावित भईहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भइरहेको बताए । 

कांग्रेसको आसन्न १४ औं महाधिवेशन भदौं १६-१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ ।


Author

थप समाचार
x