प्रमुख समाचार

जयसिंह धामी बेपत्ता प्रकरण : छानबिन समितिको टोली घटनास्थलमा

इकागज |
साउन २१, २०७८ बिहीबार १०:१९ बजे

दार्चुला- जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनको लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली बिहीबार आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।

धामी बेपत्ता प्रकरणमा सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउने बताएका गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थित ल्याउने बताएका छन् । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ ।


गत साउन १५ गते व्यास गाउँपालिका-२ का मालका धामी सदरमुकाम खलंगामा महाकालीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना भएको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझैँ फेला परेका छैनन् ।

टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन् ।


Author

थप समाचार
x