प्रमुख समाचार

सरकारमा जाने सम्भावना छैन, हामी प्रतिपक्षमा छौँ : नेपाल समूह

इकागज |
साउन २१, २०७८ बिहीबार १७:४६ बजे

काठमाडौँ  - नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने या नजाने विषयमा छलफल भएको छ । आज बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला डाकेर नेता नेपालले यस विषयमा छलफल गरेका हुन् । उनले नेकपा एमाले प्रतिपक्षीमा भएकोले आफूहरु सरकारमा जाने सम्भावना नभएको पनि बताए । 

बैठक पार्टी एकताकै विषयमा केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए । ‘हामी सरकारमा जाने सम्भावना छैन । हामी एउटै पार्टीमा छौँ । अपोजिसनमा छौँ,’ उनले भने ।  उनले पार्टी एकताको विषयमा दुवै पक्षका कार्यदलका नेताबीच छलफल भइरहेको बताए । नेपाल समूहका संयोजक भीम रावलले आजको बैठकमा कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावका विषयमा ब्रिफिङ गरेको पन्तको भनाइ छ ।


त्यस्तै बैठकमा नेता नेपालले सरकारले तत्काल कोभिडविरुद्धको खोप ल्याएर सबै नेपालीलाई उपलब्ध गराउन ध्यानाकर्षण गराएको पन्तले जानकारी दिए ।  अहिले देशका विभिन्न क्षेत्रमा गएको बाढी पहिरो विस्थापितलाई राहत तथा खास, बास र कपासको व्यवस्था गर्न पनि नेता नेपालले सरकारलाई आग्रह गरेको पन्तले जानकारी दिए । 

त्यस्तै आजको बैठकमा शुक्रबार दार्चुलामा तुइन तर्नेक्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानले तुइन काटिदिएपछि महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामीले न्याय पाउने गरी काम गर्न पनि सरकाराई गम्भीर हुन नेता नेपालले आग्रह गरे । नेपालले धामीको परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरेको पन्तले जानकारी दिए ।   


Author

थप समाचार
x