प्रमुख समाचार

'गठबन्धनको संयन्त्रले प्रधानमन्त्रीको हात खुट्टा बाँध्यो, सरकार प्रधानमन्त्रीले चलाउन पाउनुपर्‍यो'

इकागज |
साउन २४, २०७८ आइतबार १३:५३ बजे

 काठमाडौँ - राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गठबन्धन दलका राजनीतिक संयन्त्रले चलाउन खोजेको भन्दै गम्भीर आपत्ति प्रकट गरेकी छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री संयन्त्रप्रति होइन संसदीय पद्धतिप्रति जिम्मेवार हुनुपर्ने बताएकी हुन् । 

‘मैले पढेको, बुझेको र हुनुपर्ने प्रधानमन्त्री संसदीय पद्धतिप्रति जिम्मेवार हुन्छन् । हुन त यो सरकार अप्ठ्यारोमा आएको छ । भन्नलाई त यो कांग्रेसले नेतृत्व गरेको तर, गठबन्धनको सरकार हो । अर्काेतर्फबाट स्वतन्त्र सांसदहरुले भोट दिएर निर्दलीय सरकार पनि हो,’ उनले भनिन्, ‘हल्ला चलिरहेको छ । हल्ला के छ भने गठबन्धनले समानान्तर राजनीतिक संयन्त्र बनाउँदै छ । यसले प्रधानमन्त्रीलाई निर्देश गर्छ । यस्तो अवस्थामा प्रधानमन्त्री कोप्रति जिम्मेवार हुने ? प्रधानमन्त्री छान्ने संसदले, अनि संयन्त्रले हात-खुट्टा बाँध्ने ? संविधानले चिन्छ गठबन्धनको राजनीतिक संयन्त्रलाई ?’ 


उनले गठबन्धनको संयन्त्र बनाएर हाँस्यास्पद काम किन गरिएको भन्दै प्रश्न पनि गरिन् । सरकार प्रधानमन्त्रीले चलाउनुपर्ने भन्दै संयन्त्रले चलाउन खोजिनु निर्लज्जता भएको उनको भनाइ छ । ‘हाँस्यास्पद, किन गरिँदै छ ? सरकार प्रधानमन्त्रीले चलाउने हो, संयन्त्रले सरकार चलाउने हैन । प्रधानमन्त्रीको हात-खुट्टा बाँध्नु निर्लज्जता पनि हो’ उनले भनिन्, ‘म प्रधानमन्त्रीलाई भन्छु हात-खुट्टा बाँधेर नबस्नुस् । यति कमजोर किन हुनुपर्याे शेरबहादुर देउवा ?’   


Author

थप समाचार
x